काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी समकक्षी राष्ट्रपति जो वाइडेनलाई पत्र लेखी कोरोना भाइरस विरुद्धको खोप नेपाललाई सहयोग गर्न अनुरोध गरेकी छन्।
राष्ट्रपति भण्डारीको पत्र शुक्रबार अमेरिकाका लागि नेपालका राजदूत डा युवराज खतिवडाले डिसीस्थित स्टेट डिपार्टमेन्टका वरिष्ठ सल्लाहकार इर्भिन मासिंगालाई हस्तान्तरण गरेका हुन्।
पत्र हस्तान्तरण गर्दै राजदूत खतिवडाले नेपालको पछिल्लो अवस्था र खोप योजनाका बारेमा समेत जानकारी गराएका थिए।
राजदूत खतिवडाले अमेरिकी सरकारसँग नेपालले अष्ट्राजेनिका खोप अधिकतम प्राप्त गर्ने अपेक्षा राखेको समेत सो अवसरमा बताएका थिए।
अमेरिका र नेपालबीच लामो समयदेखि द्विपक्षीय सम्बन्ध रहेको स्मरण गर्दै उनले कोरोना भाइरस विरुद्धको लडाइँमा पनि अमेरिकाको महत्त्वपूर्ण सहयोगको अपेक्षा नेपालले गरेको उनले बताए।
साथै उनले नेपाल सरकारले जोन्सन एण्ड जोन्सनको खोप जानसिन इन्फेक्सियस डिजिज एण्ड भ्याक्सिन्स फर्मास्युटिकल्स कम्पनीसँग खरीद गर्ने योजनमा रहेकोसमेत जानकारी गराएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।