काठमाडौं– निजी क्षेत्रका व्यवसायीहरुले चीनबाट खरिद गरेर ल्याएका अक्सिजन सिलिण्डरको नोजलमा समस्या देखिएको छ। जसका कारण सिलिण्डरमा अक्सिजन भर्न नसकिएको अक्सिजन उत्पादकले जानकारी दिएका छन्।
लुम्बिनी अक्सिजन प्रालिमा अक्सिजन भर्न ल्याइएका ९० वटा अक्सिजन सिलिण्डरमा अक्सिजन भर्न नमिलेको संचालक रमेश खनालले जानकारी दिए।
गुल्मीमा अक्सिजन पठाउने भनेर चीनबाट ल्याइएको सिलिण्डरमा अक्सिजन भर्न खोज्दा नोजल (सिलिण्डरको टुटी) मा समस्या देखिएको खनालले जानकारी दिए। अक्सिजन प्लान्टमा ती नोजलबाट अक्सिजन भर्न नमिलेपछि सिलिण्डर अहिले त्यत्तिकै थन्क्याएर राखिएको छ।
सिलिण्डरको नोजल नमिलेकाले अक्सिजन भर्न नमिलेको खनालले जानकारी दिए। भारतबाट नयाँ नोजल ल्याएर अक्सिजन भर्ने तयारी भएको उनको भनाइ छ।
‘चीनबाट व्यवसायीले ल्याएको सिलिण्डरमा नोजलमा समस्या भएर अक्सिजन भर्न मिलेन,’ उनले भने, ‘उहाँहरुले नोजल फेर्नुस् भनेर पैसा हाल्दिनु भएको छ। हामीले भारतबाट नोजल ल्याउन लागेका छौं।’
खनालका अनुसार व्यवसायीले ल्याएका सिलिण्डरमा कार्वनडाइअक्साइड भर्न मिल्ने नोजल फिटिङ गरिएको भेटिएको छ ।
कार्वनडाइअक्साइड र अक्सिजन भर्ने नोजल फरक हुने भएकाले ती खाली सिलिण्डरमा नोजल परिवर्तन नगरेसम्म अक्सिजन भर्न नमिल्ने खनालले जानकारी दिए।
नोजल नमिलेको सिलिण्डरमा भारतबाट नयाँ नोजल ल्याएर फेरे पनि उक्त सिलिण्डरमा अक्सिजन भर्न समस्या हुने र अस्पतालका रेगुलेटरमा राख्न पनि थप समस्या हुने बताइएको छ।
टेकु अस्पतालमा व्यवसायीले सहयोग स्वरुप दिएका सिलिण्डरमा पनि नोजल फेर्नुपर्ने समस्या देखिएको अस्पतालका निर्देशक डा सागरराज भण्डारीले बताए।
‘अहिले तत्काल आवश्यक नभएकाले ती सिलिण्डर स्टकमै छन्,’ उनले भने, ‘तर प्रयोगमा ल्याउनका लागि भने नोजल फेर्नुपर्ने हुन्छ।’
व्यवसायीले खरिद गरेको अक्सिजन सिलिण्डरमा समस्या देखिएपनि सरकारले चीनबाट ल्याएको सिलिण्डरमा भने कुनै समस्या नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका सहप्रवक्ता डा समिर अधिकारीले स्वास्थ्य मन्त्रालयले प्राप्त गरेको सबै सामाग्रीमा कुनै समस्या नदेखिएको बताए।
‘स्वास्थ्य मन्त्रालयले प्राप्त गर्ने सबै सामग्रीको पहिला नै स्पेसिफिकेसन जान्छ,’ डा अधिकारीले भने, ‘चीनबाट सरकारलाई प्राप्त भएको सामाग्री हामीले माग गरेअनुसार नै आएको छ, त्यसैले मन्त्रालयले प्राप्त गरेको अक्सिजन सिलिण्डरमा कुनै समस्या छैन। समस्या आएको गुनासो कुनै पनि अस्पतालबाट आएको छैन।’
उनले व्यवसायीले स्पेसिफिकेसन नपठाइ ल्याएका अक्सिजन सिलिण्डरमा समस्या देखिएको हुनसक्ने बताए।
मन्त्रालयले व्यवसायीहरुलाई अक्सिजन सिलिण्डर लगायतका स्वास्थ्य सामग्री आयात गर्दा स्पेसिफिकेसन पठाएर मात्र ल्याउन समेत आग्रह गरेको पनि उनले बताए।
‘व्यवसायीहरुले स्पेसिफिकेसन नपठाइ जथाभावी रुपमा उठाएर ल्याएर बजारमा पठाउँदा त्यसमा समस्या आएको हुनसक्छ,’ उनले भने, ‘हामीले कुनै पनि सामान ल्याउदा स्पेसिफिकेसन पठाएर मात्र ल्याउनु भनेर सूचित पनि गरेका छौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।