काठमाडौं– कोरोना भाइरस संक्रमण न्यूनीकरणका लागि जारी निषेधाज्ञा उल्लंघन गरेको आरोपमा प्रहरीले देशका विभिन्न जिल्लामा १ हजार ७०७ वटा सवारी साधन नियन्त्रणमा लिएको छ।
विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने १ हजार ७०७ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।
तीमध्ये ४ सय ६९ वटा चारपाङ्ग्रे गाडी र १ हजार २ सय ३८ वटा मोटरसाइकल रहेका छन्। नियन्त्रणमा लिएका सवारी साधनहरुलाई आवश्यक सोधपुछ पश्चात छाडिने गरिएको छ।
साथै नयाँ भेरियन्ट सहितको कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ८ सय ४९ जनालाई नि:शुल्क मास्क वितरण गरिएको छ।
साथै देशभर सञ्चालित ८० वटा माइकिङ, प्लेकार्ड, पर्चापम्प्लेट सहितको सचेतनामूलक कार्यक्रम अन्तर्गत १५ हजार ४४ जनालाई सचेत गराइएको पनि प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।
निषेधाज्ञा कार्यान्वयनलाई थप प्रभावकारी र सफल बनाउन अन्य सुरक्षा निकाय लगायतका सरोकारवालाहरुसँग आवश्यक समन्वय, सहकार्य गरी अनुगमनलाई समेत तीब्रता दिइएको प्रहरीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।