काठमाडौं- काठमाडौं उपत्यकाका तीन जिल्लामा पुनः एक साताका लागि निषेधाज्ञा थपिएको छ। थपिएको निषेधाज्ञालाई थप कडाइ गरिएको छ। शुक्रबार (जेठ १४ गते) बिहान १ बजेदेखि थप एक साताका लागि निषेधाज्ञा थपिएको हो।
थपिएको निषेधाज्ञाको अवधिमा यसअघि खोल्न दिइएका किराना पसल तथा डिपार्टमेन्टल स्टोरहरु बन्द हुने निर्णय गरिएको छ। दैनिक दाल चामल किन्ने बहानामा भीडभाड हुने गरेको प्रशासनको ठहरअनुसार एक हप्ता किराना तथा डिपार्टमेन्टल स्टोर बन्द गर्ने निर्णय गरिएको बताइएको छ। बिहान ९ बजेसम्म तरकारी, फलफूल, दूध, मासु र खाना पकाउने ग्यास तथा खानेपानीका पसल खोल्न पाइने छ।
पत्रकारलाई सूचना विभागको कार्ड अनिवार्य भनिएको छ। मिडिया हाउसको सिफारिसमा प्रशासनको अनुमतिमा पनि पत्रकारले दैनिक रिपोर्टिङ गर्न पाउनेछन्।
निषेधाज्ञालाई प्रभावकारी बनाउन कडाइका साथ नियमन गरिने बताइएको छ। नियमनका लागि हालै सरकारले कोभिड१९ सङ्कट व्यवस्थापन अध्यादेश-२०७८ ल्याएको छ।
उक्त अध्यादेश तत्काल कार्यान्वयनमा ल्याउनुपर्ने भएको बताउँदै काठमाडौं जिल्ला प्रशासन कार्यालयले अध्यादेशमा उल्लेख कसुर, सजाय र जरिवाना राखेर पाँच बुँदे सार्वजनिक सूचना सोमबार नै प्रकाशित गरिसकेको छ।
कस्तो हुनसक्छ कारबाही?
उक्त अध्यादेशमा कोभिडि नियन्त्रणका लागि खटिएका सुरक्षाकर्मीले तत्काल कारबाही र जरिवाना गर्ने सक्ने प्रावधान छन्।
व्यक्तिले उलंघन गरेमा प्रमुख जिल्ला अधिकारी तत्काल एक लाख रुपैयाँसम्मा जरिवाना गर्न सक्ने प्रावधान छ भने संस्थाले उलंघन गरेमा पाँच लाख रुपैयाँ जरिवाना गराउन सक्ने भनिएको छ।
कसूर अनुसारको सजाय वर्गीकरण पनि गरिएको छ। मास्क नलगाइ सार्वजनिक ठाउँमा आवतजावत गरेमा पटकैपिच्छे एक सय रुपैयाँ जरिवाना गरिनेछ। बिहान र बेलुकी हुने घर वरपरको हिँडडुलमा पनि बन्देज लगाइएको छ। त्यसरी बाहिर हिँडेको पाइएमा दुई सय रुपैयाँ जरिवाना तिराइनेछ।
अनुमतिबिना सवारी चलाएको भेटिएमा दुई पांग्रे भए दुइ हजार र चार पांग्रेमा पाँच हजार रुपैयाँ जरिवाना हुन्छ।
खोल्न छुट नदिइएका व्यवसाय खोलेको पाइएमा प्रमुख जिल्ला अधिकारीले ६ महिनासम्मका लागि बन्द गराउन सक्नेसम्मको अधिकार अध्यादेशले दिएको छ।
यसबाहेक अध्यादेश बमोजिम जारी भएका मापदण्ड पालना नगरेको कसुरमा ६ महिनासम्म कैद र तीन लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।