काठमाडौं– सरकारले कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)को प्रमुख प्रशासकीय अधिकारीमा डा जागेश्वर गौतमलाई नियुक्त गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा गौतमलाई सोमबार नियुक्त गरिएको मन्त्रालयका सहसचिव दामोदर रेग्मीले जानकारी दिए। गौतमले मंगलबार( आज) देखि जिम्मेवारी सम्हाल्ने छन्।
यही जेठ ६ गते कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश–२०७८मार्फत सरकारले वीर अस्पताललाई युनिफाइड केन्द्रीय अस्पतालका रुपमा सञ्चालन गर्ने भएको थियो।
कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालले संक्रमितको उपचार व्यवस्थापन (अक्सिजन आइसोलेशन, हाई डिपेन्डेसी युनिट (एचडीयू), सघन उपचार कक्ष, टेलिमेडिसिन कल सेन्टर, होम आइसोलेसनफलोअप, एम्बुलेन्स र आकस्मिक सेवासमेत सञ्चालन गर्नेछ।
युनिफाइड अस्पतालले शय्या खाली भएका स्वास्थ्य संस्थामा संक्रमितको भर्नाका लागि आवश्यक समन्वय गर्नेछ। केन्द्रीय अस्पतालले प्रदेश सरकारसंँग समन्वय गरी प्रदेशस्थित सङ्घ वा प्रादेशिक अस्पताललाई कोभिड–१९ युनिफाइड प्रादेशिक अस्पतालका रुपमा तोक्ने सक्ने व्यवस्थासमेत गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।