फाइल तस्वीर
काठमाडौं- नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिले आफू अन्तर्गतका शाखामा कार्यरत ६ सय पत्रकारलाई कोरोनाविरुद्धको खोप व्यवस्था गर्न माग गरेको छ।
प्रदेश समितिका अध्यक्ष बालकृष्ण अधिकारीले आइतबार सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङलाई मन्त्रालयमा पुगेर ध्यानाकर्षण गराउँदै प्रतिष्ठान प्रदेश अन्तर्गतका ४० शाखासहित ५५ सञ्चार गृहका ६ सय जना पत्रकारलाई खोप लगाउन माग गरेका हुन्।
यी पत्रकारहरूले पहिलो चरणको समेत खोप नलगाएको भन्दै उनीहरुलाई प्राथमिकताका साथ खोपको व्यवस्था गर्न प्रतिष्ठान प्रदेश समितिले ध्यानाकर्षण गराएको हो।
अग्रभागमा रहेर काम गर्ने पत्रकारहरुको स्वास्थ्य सुरक्षालाई केन्द्रमा राखेर सरकारले प्राथमिकताका साथ यसअघि नै खोपको व्यवस्था गरेकोमा प्रदेश समितिले धन्यवादसमेत दिएको छ।
अध्यक्ष अधिकारीका अनुसार कोरोनाबाट मृत्यु भएका च्यानल नेपाल प्रतिष्ठानका अध्यक्ष शान्तिराम कार्की र रेडियो नेपालका पत्रकार कृष्ण प्रसाद ओझाका आश्रित परिवारको जीवनयापनका लागि आर्थिक सहयोगका साथै रोजगारीको व्यवस्था मिलाइदिन, कोरोना बिरामी भएका पत्रकारहरुको निःशुल्क उपचारको व्यवस्था मिलाउन, सञ्चार उद्योग र सञ्चारकर्मी दुवैलाई अलग अलग राहत प्याकेज ल्याउन सरकारसँग माग गरिएको छ।
सूचना विभागले उपलब्ध गराउने प्रेस पास वितरणमा सहजीकरण गरिदिन, महासंघका सबै सदस्यको अनिवार्य स्वास्थ्य बीमाको व्यवस्था मिलाउन, क्यान्सर, मिर्गौलासहित जटिल प्रकारका रोग लागेका पत्रकारको उपचारका लागि कार्यविधि निर्माण गरी रोगका आधारमा उपचारका लागि निश्चित आर्थिक सहयोगको व्यवस्था मिलाउन प्रतिष्ठान प्रदेश समितिले माग गरेको छ।
जवाफमा मन्त्री गुरुङले सरकारले पत्रकारलाई यसअघि पनि उच्च प्राथमिकताका साथ खोपको प्रवन्ध गरेको जनाउँदै छुटेका पत्रकारहरुलाई पनि प्राथमिकतामा राखेर खोप लगाउन व्यवस्था मिलाउने आश्वासन दिए।
पत्रकारका समस्याहरुप्रति जानकार रहेको जनाउँदै महासंघले अघि सारेका अन्य विषयलाई सम्बोधन गर्न आफू सकारात्मक रहेको मन्त्री गुरुङले आश्वासन दिएको महासंघका महासचिव रामकुमार शाहीले बताएका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।