काठमाडौं– नेकपा माओवादी केन्द्रले देशव्यापी कोभिड १९ प्रतिरोधी अभियान घोषणा गर्ने भएको छ। केन्द्रमा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को नेतृत्व रहने अभियान प्रदेश, पालिका र वडासम्म सक्रिय रहने जनाइएको छ।
बिहीबार बसेको माओवादी केन्द्रको स्थायी समितिको बैठकले कोभिड प्रतिरोधी अभियान घोषणा गर्ने निर्णय गरेको हो। शुक्रबार अभियानको घोषणा गरिने माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुन (अनन्त)ले जानकारी दिए।
नेता पुनका अनुसार केन्द्रमा अध्यक्ष प्रचण्डको नेतृत्वमा अभियान घोषणा गरेर ५ दिन भित्रै सातवटै प्रदेश तथा सबै स्थानीय तह र वडाहरुमा कोभिड प्रतिरोधी युनिट गठन गरिने छ।
माओवादीको कोभिड प्रतिरोधी युनिटमार्फत कोभिड १९ को रोकथाम, नियन्त्रण तथा राहात वितरणका लागि स्वयंसेवकहरु परिचालन हुनेछन्।
स्वयंसेवक परिचालनका लागि पार्टीका जनप्रतिनिधि (संघीयदेखि स्थानीय), पार्टी कमिटीका सबै सदस्य र सभेच्छुकहरुबाट आर्थिक सहयोग संकलन गरिनेछ।
बिहीबार बसेको स्थायी समिति बैठकले सरकारले कोभिड नियन्त्रणमा प्रभावकारी काम गर्न नसकेको पनि ठहर गरेको छ। कोभिड नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराउनका लागि शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाउने निर्णय भएको पनि नेता पुनले जानकारी दिए।
सरकारले गठन गरेको कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) उपयुक्त नभएको पनि माओवादीले निर्णय गरेको छ। एमसीसी खारेज गरी कोभिड १९ नियन्त्रणका लागि प्रधानमन्त्रीको नेतृत्वमा सर्वदलीय, सर्वपक्षीय संयन्त्र बनाउन माग गर्ने निर्णय भएको पनि पुनले बताए।
सरकारले स्वास्थ्य तथा सहयोग सामग्री वितरणमा लापरवाही गरेको, आफ्नो पार्टी र आफ्नो मान्छेलाई मात्रै वितरण गरेको देखिएकाले त्यसको छानबिन गर्न माग गर्ने निर्णय भएको पनि पुनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।