ढाका– बंगलादेशले कोभिड १९ को नयाँ प्रकार (इन्डियन भेरिएन्ट) बाट संक्रमित बिरामीमध्ये पहिलो व्यक्तिको सोमबार मृत्यु भएको जनाएको छ।
सरकारको संक्रामक रोग नियन्त्रण तथा अनुसन्धान कार्यालयले मंगलबार प्रकाशित गरेको तथ्याङ्कअनुसार मृतक संक्रमित व्यक्ति भारतबाट हालै स्वदेश फर्केका थिए। बंगलादेशमा अहिलेसम्म ६ व्यक्तिमा नयाँ प्रकारको संक्रमण पुष्टि भएको छ, जसमध्ये मृतक एक जना क्यान्सर र अन्य रोगबाट पीडित थिए।
बंगलादेशले अप्रिल २६ देखि बन्दरगाह हुँदै भारतबाट फर्किने यात्रुहरूको प्रवेशमा रोक लगाएपछि यस महिनाको शुरुमा अत्यधिक संक्रामक कोरोना भाइरसका दुई घटनाहरू पत्ता लागेका थिए।
भारतमा कोभिड–१९ संक्रमणको उच्च वृद्धि भएपछि अप्रिल १४ देखि दुई देश बीचको यात्रुबहाक उडानहरूलाई पनि स्थगित गरिएको थियो।
बंगलादेशमा सोमबार कोरोनाभाइरस महामारीबाट मृत्यु हुनेको सङ्ख्या ३२ रहेको थियो भने कोभिड–१९ का कारण संक्रमण पुष्टि भएका व्यक्तिको सङ्ख्या ६९८ रहेको थियो। यससँगै अहिलेसम्म बंगलादेशमा कोभिड–१९ पुष्टि भएको सङ्ख्या सात लाख ८० हजार ८५९ पुगेको छ भने १२ हजार १८१ जनाको मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।