ब्रसेल्स- युरोपेली संघ (ईयू) को औषधि नियामक निकायले फाइजरको कोभिड खोप अब यसअघि भनिएभन्दा निकै बढी समय फ्रिजमा भण्डारण गर्न सकिने जनाएको छ।
युरोपेली औषधि निकाय ईएमएले जमेको खोप पूर्णतया पग्लिएको अवस्थामा नखोलिएको खोपको भाँडो (भायल) एक महिनासम्म फ्रिजमा राख्न सकिने जनाएको हो।
यसअघि त्यसरी भण्डारण गर्नका लागि पाँच दिनको समय निर्धारण गरिएको थियो। यो खोप बढी समय भण्डारण गर्न पाउँदा ईयू सदस्य देशहरूको खोप कार्यक्रममा उल्लेख्य प्रभाव पर्ने अपेक्षा गरिएको छ।
यसअघिको तोकिएको भण्डारण मापदण्डले गर्दा फाइजर खोपलाई संसारका केही ठाउँमा प्रयोग गर्न निकै कठिन बनाएको थियो। फेब्रुअरीमा अमेरिकाले यस खोपको भण्डारण र पारवहनको मापदण्डलाई सुधारेर माइनस १५ देखि माइनस २५ डिग्री सेल्सियसमा फ्रिजमा दुई सातासम्म राख्न सकिने व्यवस्था भएको बताएको थियो।
सुरुमा त्यसलाई माइनस ८० देखि माइनस ६० डिग्री सेल्सियसमा भण्डारण गर्नुपर्ने आवश्यक ठानिएको थियो। यसै महिनाको सुरुमा क्यानडाले फाइजर खोप १२ देखि १५ वर्षबीचका बालबालिकासमेतलाई प्रयोग गर्न स्वीकृति दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।