काठमाडौं– भारतमा दैनिक रुपमा उच्च संख्यामा बढिरहेको कोरोना संक्रमतण पछिल्ला दिनमा बिस्तारै आरालो लाग्न थालेको छ। पछिल्लो २४ घण्टाभित्र त्यहाँ २ लाख ६३ हजार ४५ जना नयाँ संक्रमित थपिएका हुन्।
अघिल्लो दिन यो सख्या २ लाख ८१ हजारभन्दा बढी थियो। कुल संक्रमित संख्याका आधारमा दोस्रो स्थानमा रहेको भारतमा कोरोना संक्रमितको संख्या २ करोड ५२ लाख नाघेको छ।
नयाँ संक्रमितको संख्या केही घटे पनि पछिल्लो केही दिनयता दैनिक मृतकको संख्या भने रेकर्ड बन्न थालेको छ। भारतमा पछिल्लो २४ घण्टामा ४ हजार ३ सय ९२ को मृत्यु भएको छ।
यो संख्या हालसम्मकै उच्च हो। यो योसँगै कोरोना संक्रमणकै कारण भारतमा मृत्यु हुनेको कुल संख्या दुई लाख ७७ हजार नाघेको छ।
संक्रमितमध्ये २ करोड १५ लाख भन्दा बढी निको भइसकेका छन् ३३ लाखभन्दा बढी सक्रिय संक्रमित रहेका छन्।
विश्वमा कुल संक्रमितका आधारमा अगाडि रहेको अमेरिकामा तीन करोड ३७ लाखभन्दा बढी संक्रमित रहेका छन्। पछिल्लो २४ घण्टामा त्यहाँ करिब २१ हजार संक्रमित थपिएका छन् भने ३३७ जनाको मृत्यु भएको छ।
तेस्रोमा रहेको ब्राजिलमा करिब एक करोड ५६ लाख संक्रमित रहेका छन्। त्यहाँ पछिल्लो २४ घण्टामा ३३ हजारभन्दा बढी संक्रमित थपिँदा १ हजारभन्दा बढीको मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।