काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसबाट संक्रमितहरु खुलेआम हिँडिरहेकाले संक्रमण अझै फैलिने चेतावनी दिएको छ। संक्रमण उच्च रहेका जिल्लाहरुमा नै संक्रमितहरु खुलेआम सार्वजनिक स्थानहरुमा हिँडिरहेका मन्त्रालयको भनाइ छ।
मन्त्रालयले निषेधाज्ञाको पलाना पूर्ण रुपमा नभएकाले कोरोना भाइरसको संक्रमण अझै फैलिन सक्ने पनि बताएको छ।
अध्ययनहरुले अझै पनि जनस्वास्थ्यका मापदण्डहरुको राम्ररी पालना नभइरहेको र निषेधाज्ञाको समयमा पनि मानिसहरुको आवतजावतमा ५९ प्रतिशत मात्रै कमी आएको देखिएको मन्त्रालयले जानकारी दिएको छ।
काठमाडौं, रुपन्देही, ललितपुर, भक्तपुर, मोरङ, कैलाली, कास्की, बाँके, दाङ, चितवन, सुर्खेत, झापा, कञ्चनपुर, मकवानपुर, धनुषा, काभ्रे, सुनसरी, पर्सा, बर्दिया, पाल्पा जिल्लामा संक्रमण उच्च रहेको तथा संक्रमित व्यक्तिहरु सार्वजनिक स्थानहरुमा खुलेआम हिडिँरहेको देखिएको पनि मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयका सह–प्रवक्ता डा समिरकुमार अधिकारीले सोमबार एक विज्ञप्ती जारी गर्दै कोरोनाविरुद्धको युद्ध स्वास्थ्य तथा जनसंख्या मन्त्रालय एक्लैको युद्ध नभएकाले यसका लागि अन्य मन्त्रालयहरु, प्रदेश र स्थानीय तहसहित सबै सरकारी निकायहरुको पनि उत्तिकै महत्वपूर्ण भूमिका रहने बताएका छन्।
मन्त्रालयले संक्रमणको जोखिम बढिरहेको अवस्थामा संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी भूमिका बढाउन पनि सम्बन्धित पक्षलाई अनुरोध गरेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।