काठमाडाैं- कमलपोखरीस्थित अग्रवाल भवनमा आइसोलेसन सेन्टर स्थापना गरिएको छ। भवनमा करिब १२६ जनासम्म राख्न सकिनेगरी क्वारेन्टिन/माइल्ड आइसोलेसन सेन्टरको स्थापना गरिएको हो।
अग्रवाल सेवा केन्द्र नेपाल, हिन्दू स्वयंसेवक संघ नेपाल, नेपाल मेडिकल एसोसिएसन, उपकार सेवा नेपाल र सेवा इन्टरनेसनल नेपालले संयुक्तरुपमा सञ्चालन गरेको आइसोलेसन सेन्टरको सोमबार नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले उद्घाटन गरेका हुन्।
आइसोलेसन उद्घाटन गर्दै राजदूत क्वात्राले कोभिड-१९ को महामारी दक्षिण एसियामा तीव्ररुपमा फैलिएको भन्दै महामारीविरुद्ध लड्न व्यक्ति, परिवार, समाज र सरकारको संयुक्त प्रयास आवश्यक पर्ने बताए। उनले कोभिड-१९ विरुद्धको लडाइँमा भारत सरकारले आगामी दिनमा पनि सहयोग गर्ने बताए।
उनले भने, 'भारतले महामारीविरुद्ध लड्न नेपाललाई अग्रसर रुपले सहयोग गरिरहेको छ। भारतबाट २३ लाख डोज कोभिडशिल्ड खोप नेपाल आइसकेको छ। ८-१० दिनमा लिक्विड अक्सिजनको ट्यांकर भारतबाट नेपाल आउनेछ। अस्पतालमा अक्सिजनको कमी नहोस् भन्ने छ।’
आइसोलेसन सेन्टर उद्घाटनमा बोल्दै उद्योगी राजेन्द्र खेतानले आइसोलेसन सेन्टरमार्फत् फ्रन्टलाइनर डाक्टर, नर्सलगायतलाई बचाउन सके अन्य सयौँ परिवारको रक्षा गर्न सकिने बताए।
आइसोलेसन सेन्टरमा एउटा हलमा ९० जनासम्म राख्न सक्नेगरी व्यवस्था गरिएको छ। प्रतिकोठामा दुई जना बस्नेगरी १८ वटा कोठा बनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।