काठमाडौं– लुम्बिनी प्रदेशको बाँकमा सात जना संक्रमितको मृत्यु भएको छ। बाँकेमा अस्पताल भर्ना भएका थप सात कोरोना संक्रमितको गए राति मृत्यु भएको हो।
बाँकेका विभिन्न अस्पतालमा उपचाररत बर्दियाका तीन, बाँकेका दुई, रोल्पाका र कैलालीका एक–एक जना गरी सातको अस्पतालमै मृत्यु भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका स्रोतव्यक्ति तेज वलीले जानकारी दिए।
नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका–१९ निवासी ६० वर्षीय पुरुष, कोहलपुर नगरपालिका–१५ निवासी ६७ वर्षीय पुरुष, मधुवन नगरपालिका–९ बर्दिया निवासी ७१ वर्षीय पुरुष, बढैयाताल गाउँपालिका–१ बर्दिया निवासी ५० वर्षीय पुरुष, रुन्टीगढी गाउँपालिका रोल्पा निवासी ३५ वर्षीय पुरुष र बढैयाताल–२ निवासी ८७ वर्षीय पुरुषको गए राति मृत्यु भएको हो।
यसैगरी शिक्षण अस्पताल कोहलपुरमा उपचाररत गौरीगङ्गा गाउँपालिका–४ कैलाली निवासी ५२ वर्षीय पुरुषको पनि गए राति उपचारका क्रममा मृत्यु भएको उनले बताए।
योसँगै बाँकेमा कोरोनाबाट २३४ जनाको मृत्यु भएको छ । मृतकमध्ये बाहिरी जिल्लाबाट उपचार गराउन आए १८३ जना रहेको वलीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।