काठमाडौं - वरिष्ठ ग्याष्ट्रोइन्टेरोलोजिष्ट डा आइएल आचार्यको कोरोना संक्रमणपछिको जलिटताका कारण निधन भएको छ।
स्टार अस्पतालमा उपचाररत डा आचार्यको बिहान करिब २ बजे निधन भएको अस्पतालले पुष्टि गरेको छ। कोरोना संक्रमण पुष्टि भएपछि ८३ वर्षे डा आचार्य वैशाख १८ गते भर्ना भएको अस्पतालका मेडिकल डाइरेक्टर डा शैल रुपाखेतीले बताए।
उनको फोक्सोमा ७५ प्रतिशत निमोनिया भइसकेको थियो। तर अस्पतालमा भर्ना भएपछि निरन्तरको उपचारपछि स्वास्थ्यमा सुधार हुँदै गएको उनले बताए। वैशाख २९ गते कोरोना नेगेटिभ भएपछि उनलाई नरमल आइसीयूमा राखेर उपचार गरिएको थियो। तर अचानक स्वास्थ्य अवस्था बिग्रदै गएपछि उनको निधन भएको डा रुपाखेतीले बताए।
‘उहाँको फोक्सोमा ७५ प्रतिशत निमोनिया भइसकेको थियो। तर उपचारपछि स्वास्थ्यमा सुधार पनि भयो’ डा रुपाखेतीले भने, ‘कोरोना नेगेटिभ आएपछि हामीले नरमल आइसीयूमा राखेर उपचार गरेका थियौँ। तर अचानक उहाँको स्वास्थ्य अवस्था बिग्रिएपछि प्रयास गर्दा गर्दै पनि निधन भयो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।