काठमाडौं- के एल दुगड गु्रपले नेपालगन्ज मेडिकल कलेजको शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएका बिरामी तथा तिनका आफन्तहरूलाई दुई महिनासम्म खान पुग्ने खाद्यान्न उपलब्ध गराउने भएको छ।
कोरोना संक्रमित र उनीहरूको कुरुवालाई लक्षित गर्दै स्थानीय समाजसेवीले सञ्चालन गरेको सहुलियत खाना कार्यक्रमलाई के एल दुगड गु्रपले दुई महिनालाई पुग्ने चामल र दाल उपलब्ध गराउने भएको हो।
बाँके र यस आसपासका जिल्लाहरूबाट आएका संक्रमित र तीनका कुरुवा आफन्तहरूलाई खानाको समस्या भएपछि स्थानीय समाजसेवीहरूले सहुलियत मूल्यमा खाना खुवाउने प्रबन्ध मिलाएका छन्। प्रत्येक दिन बिहान २०० जना र बेलुका २०० जना संक्रमित तथा तिनका कुरुवालाई खाना खुवाउने लक्ष्यका साथ सहुलियत खाना कार्यक्रम सञ्चालनमा ल्याइएको कार्यक्रमको शुभारम्भमा अशोक कोइरालाले बताए ।
‘बाहिर निषेधाज्ञा, कोरोनाका बिरामी कुरुवालाई खाना खुवाउन होटल व्यवसायी डराइरहेको अवस्था र किनेरै खान्छु भन्दा पनि पानीसमेत नपाएको कारुणिक अवस्था देखेपछि हामीले अभियान चलाएका हौं,’ कोइरालाले भने।
सहुलियत खाना कार्यक्रममा प्रतिछाक खाना ३० रूपैयाँमा उपलब्ध हुने र संक्रमितहरूका लागि हरेक दिन अण्डाको पनि व्यवस्थापन गरिएको उनले बताए। कार्यक्रममा दुई महिनालाई आवश्यक पर्ने खाद्यान्न के एल दुगड समूहले सहयोग गरेको छ भने अन्य आवश्यक सामग्री नेपालगन्जस्थित अन्य उद्योगी व्यवसायीले सहयोग गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।