काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले अक्सिजन उत्पादन गर्ने उद्योग र अस्पतालहरूलाई चौबीसै घण्टा निरन्तर विद्युत् आपूर्तिको वैकल्पिक व्यवस्था गरेको छ। अस्पताल र अक्सिजन उद्योगहरूको विद्युत् प्रसारण तथा वितरण हुने सम्पूर्ण फिडरहरूलाई अधिकतम सतर्क (हाइ अलर्ट)को सूचीमा वर्गीकृत गरिएको प्राधिकरणले जानकारी दिएको छ।
साथै, अस्पताल र अक्सिजन उद्योगको संवेदनशीलतालाई ख्याल गर्दै विद्युत् निर्वाध आपूर्तिका लागि वैकल्पिक फिडरसमेत तयार गरिएको छ। अक्सिजन उद्योगहरू रहेका ककनी, हरिसिद्धी, बुटवल, सिमरा, जनकपुर, विराटनगरलगायतका स्थानमा नयाँ वैकल्पिक फिडरहरू जडान गरिएको प्राधिकरणको भनाइ छ।
कोभिड-१९ को दोस्रो लहर देखिनासाथ अक्सिजन उद्योग तथा अस्पतालहरूमा विद्युत् आपूर्ति हुने फिडरहरूको पहिचान गरी समस्या आउन नदिन आवश्यक व्यवस्था गर्न देशभरका वितरण केन्द्रहरूलाई निर्देशन दिइएको र सम्बन्धित वितरण केन्द्रहरूले सोहीअनुसार प्रबन्ध गरेको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले बताए । उनले अहिले अस्पताल र अक्सिजन उद्योगहरूमा विद्युत् आपूर्तिको समस्या नरहेको उल्लेख गरे।
अक्सिजन उद्योग तथा अस्पतालहरूमा निर्वाध विद्युत् आपूर्तिका लागि बागमती प्रादेशिक कार्यालयका प्रमुख श्रीरामराज पाण्डेको संयोजकत्वमा सहायता कार्यदल गठन गरिएको छ। ‘अस्पताल तथा अक्सिजन उद्योगमा विद्युत् आपूर्तिमा समस्या आउन नदिन हरसम्भव उपाय अपनाएका छौं, कथंकदाचित समस्या आएमा त्यसको तत्काल जानकारी दिन र अनुगमनका लागि कार्यकारी निर्देशक, उद्योगका पदाधिकारीहरू, कार्यदलका संयोजक, सम्बन्धित वितरण केन्द्रका प्रमुखहरूसहितको भाइबर, ह्वाट्सएप ग्रुप सञ्चालनमा ल्याइएको छ,’ शाक्यले भने।
अस्पताल तथा अक्सिजन उद्योगसँग सम्बन्धित विद्युत् प्राविधिकहरूलाई उक्त ग्रुपमा जोडिन आग्रह गरिएको छ। आफ्नो अस्पताल वा उद्योगमा विद्युतको समस्या आउनासाथ तत्काल खबर गर्न आग्रह गरिएको छ।
प्रधानमन्त्रीका विकासविज्ञ सल्लाहकार गजेन्द्र थपलिया, कार्यकारी निर्देशक शाक्य, कार्यदलका संयोजक पाण्डे र स्थानीय वितरण केन्द्रहरूको प्रमुखसहितको टोलीले काठमाडौं उपत्यकामा रहेको विभिन्न अस्पताल तथा अक्सिजन उद्योगहरू र विद्युत् आपूर्तिका गर्ने फिडरहरूको अवलोकन गरी समस्याको पहिचान गरेको प्राधिकरणले जनाएको छ। समस्या समाधानका लागि आवश्यक उपायहरू तर्जुमा गरी सोहीअनुसार कार्य अगाडि बढाइएको शाक्यले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।