काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा पुन: नियुक्त भएका भानुभक्त ढकालले पशुपति आर्यघाटमा काेराेना संक्रमितकाे शव व्यवस्थापनमा खटिने कर्मचारीलाई प्रोत्साहन भत्ता दिने निर्णय गरेका छन्।
शुक्रबार पर्यटनमन्त्रीको शपथपछि पदवहार ग्रहण गर्दै उनले भत्तास्वरूप प्रति शव एक हजार रूपैयाँ दिने निर्णयको फाइल सदर गरेका हुन्।
यसअघि सरकारले जोखिम भत्ता दिने निर्णय गरेपनि पशुपति आर्यघाटमा शव व्यवस्थापनमा खटिने कर्मचारी समेटिएका थिएनन्।
अब उनीहरूले पनि प्रोत्साहन भत्ता पाउने भएका छन्। ढकालले पर्यटन क्षेत्रको विकास र विस्तारभन्दा पनि उद्धार र राहतमा केन्द्रित हुनेगरी नीति बनाउन कर्मचारीलाई निर्देशन दिए।
मन्त्रालयमा पदभार ग्रहण गरेसँगै उनले कर्मचारीलाई निर्देशन दिँदै काेराेनाका कारण थला परेको पर्यटन व्यवसायले राहत पाउनेगरी नीति बनाउन र नीति तथा बजेट दुवै प्रभावकारी हुनेगरी तयारी गर्न निर्देशन दिए।
ठूलो दलको सरकारबाट बहुमतको हुँदै सुदृढ सरकार बन्ने भन्दै सरकार केही हुन्छ कि भनेर चिन्ता नगरी काम गर्न उनले आग्रह गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।