काठमाडौं– कोभिड संक्रमणबाट लुम्बिनी प्रदेशको दाङ र बाँकेमा गरी १४ जनाको मृत्यु भएको छ। मृत्य हुनेमा दाङका छ र बाँकेका आठ जना छन्।
नेपालगञ्जस्थित भेरी अस्पतालमा पाँच, शिक्षण अस्पताल कोहलपुरमा दुई र एक जनाको होम आइसोलेशनमा मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए।
भेरी अस्पताल नेपालगञ्जमा उपचाररत सल्यान कुमाख गाउँपालिका–१ निवासी ६७ वर्षीया महिला, बर्दिया मधुवन नगरपालिका–६ निवासी ५९ वर्षीय पुरुष, बैजनाथ गाउँपालिका–६ बाँके निवासी ३५ वर्षीया महिला, खजुरा गाउँपालिका–३ बाँके निवासी ७५ वर्षीया महिला र नेपालगञ्ज उपमहानगरपालिका–५ निवासी ६१ वर्षीया महिलाको मृत्यु भएको उनले बताए।
यसैगरी शिक्षण अस्पताल कोहलपुरमा कोहलपुर नगरपालिका–२ निवासी २८ वर्षीय पुरुष र कैलाली लम्कीचुहा नगरपालिका निवासी ४० वर्षीय पुरुषको मृत्यु भएको छ भने खजुरा गाउँपालिका–१ बाँके निवासी ६४ वर्षीया महिलाको होम आइसोलेशनमा मृत्यु भएको वलीले जानकारी दिए।
यससँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या २२२ पुगेको छ। बाहिरी जिल्लाबाट यहाँ उपचार गराउन आउँदा १६७ को मृत्यु भएको छ।
दाङमा एकै दिन छ सङ्क्रमितको मृत्यु
दाङमा एकै दिन थप छ संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिकाका पाँच र घोराहीका एक जना रहेका छन्। पाँचको संस्थागत आइसोलेशन र एक होम आइसोलेशनमा बसेका सङ्क्रमितको मृत्यु भएको हो।
उपमहानगरपालिकाले सञ्चालन गरेको मेट्रो सिटी अस्पतालमा उपचाररत तुलसीपुर–७ का ६२ वर्षीय पुरुष र १२ का ६७ वर्षीय पुरुष मृत्यु भएको हो । यस्तै राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचाररत तुलसीपुर–८ का ३० वर्षीया महिलाको मृत्यु भएको छ।
यस्तै कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचाररत तुलसीपुरका दुई सङ्क्रमितको मृत्यु भएको छ ।
यस्तै होम आइसोलेशनमा बसेका घोराही–९ का ३३ वर्षीय पुरुषको मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।