काठमाडौं– गृह मन्त्रालयले कोभिड १९ संक्रमितको उपचारमा अक्सिजनको अभाव भइरहेको भन्दै आफूसँग भएका अक्सिजन सिलिण्डरहरु स्वतःस्फुर्त रुपमा उपलब्ध गराइदिन आग्रह गरेको छ।
मन्त्रालयले सर्वसाधारण तथा अक्सिजनको प्रयोग हुने उद्योग, व्यवसाय, आयोजना, शिक्षण संस्था र तालिम केन्द्रलाई स्वतःस्फुर्त रुपमा आफूसँग भएको अक्सिजन सिलिण्डर नजिकको स्थानीय प्रशासन वा सुरक्षा निकायमा उपलब्ध गराइ दिन भनेको हो।
मन्त्रालयका प्रवक्ता (सहसचिव) जनकराज दाहालले बिहीबार एक वक्तव्य जारी गर्दै अहिले विभिन्न उद्योग, व्यवसाय, आयोजना र व्यक्तिसँग भएका अक्सिजन सिलिण्डर संकलन गर्ने कार्य भइरहेको पनि जानकारी दिएका छन्।
गृह मन्त्रालयका अनुसार बिहीबार मात्रै सुनसरी जिल्लाबाट नेपाली सेनाको स्काइ ट्रकमार्फत ६० वटा अक्सिजन सिलिण्डर काठमाडौं उपत्यका ल्याइएको छ।
जम्मा भएका अक्सिजन सिलिण्डरहरु कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)मार्फत न्यायोचित रुपमा वितरणको व्यवस्था मिलाइएको पनि गृह मन्त्रालयले जानकारी दिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।