प्रतीकात्मक तस्वीर काठमाडाैं– भगवान महावीर जैन–निकेतन र आरम्भ फाउण्डेशनको सहकार्यमा नेपाल उद्याेग वाणिज्य महासंघले आज (बिहीबार) बाट आइसाेलेस सेन्टर संचालन ल्याएकाे छ।
महासंघले जैन–निकेतन ज्ञानेश्वर र आरम्भ फाउण्डेशनको सहकार्यमा कोभिड संक्रमितका लागि कमलपोखरीस्थित जैन निकेतनमा ड्राई (अक्सिजन र आपतकालीन उपचारविनाको) आइसाेलेसन सेन्टर संचालनमा ल्याएको हाे।
हाल २६ बेड रहने आइशोलेसन सेन्टरमा आवश्यकताका आधारमा थप बेडको व्यवस्थापन गर्दै जाने योजना रहेकाे महासंघकाे भनाइ छ। कोरोना संक्रमणका कारण आइसाेलेसनमा बस्न समस्या परेका निम्न आय भएकालाई लक्षित गरी उक्त सेन्टर संचालनमा ल्याउन लागिएको महासंघले जनाएकाे छ।
निम्न आय भएका, कुनै लक्षण नदेखिएका संक्रमित कामका लागि बाहिर जाने र त्यसबाट संक्रमणसमेत फैलन सक्ने जाेखिम रहेकाले त्यस्ता संक्रमितहरूलाई उचित वातावरणमा एकै ठाउँमा राखी संक्रमण नियन्त्रणमा सहयोग पुर्याउने उद्देश्य महासंघको छ।
आइसाेलेसनका लागि स्थान जैन–निकेतनले उपलव्ध गराएको छ भने आरम्भ फाउण्डेशनले दैनिक व्यवस्थापन र संचालनकाे जिम्मेवारीसहित दुई जना स्वास्थ्यकर्मी र एक जना चिकित्सको व्यवस्था गरेकाे महासंघले बताएकाे छ। आइसाेलेसनमा रहेका संक्रमितहरूको २४ सै घण्टा स्वास्थ्य परीक्षण, स्वास्थ्य परामर्शसहित औषधि उपचारको प्रवन्ध समेत गरिनेछ। स्थानीय तहमा संक्रमितहरूसँग समन्वय गर्ने कार्यमा काठमाडौं महानगरपालिका वडा नम्वर २९ ले सहयोग गर्नेछ।
आइसाेलेसनमा रहने संक्रमितका लागि बिहान बेलुकाको खाना र दिउँसोको खाजाको प्रबन्ध गरिनेछ। केन्द्रमा अक्सिजनबाहेक कोरोना संक्रमितहरूका लागि दिइने खाने औषधि उपलव्ध गराइने भएकाे छ।
आइसाेलेसनमा रहँदा कुनै संक्रमितमा स्वास्थ्य जटिलता आई अस्पताल जानुपर्ने अवस्था आइपरेमा विरामीलाई अस्पतालसम्म जाने कार्यको समन्वय नेपाल उद्योग वाणिज्य महासंघले गरिदिनेछ। तर, तत्पश्चातको सम्पूर्ण व्यवस्थापन भने विरामी आफैले गर्नुपर्नेछ।
केही व्यावहारिक र सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गर्दै प्रारम्भमा कोभिड संक्रमित एकल महिलाहरूलाई सेन्टरमा सेवा दिन असमर्थ हुने महासंघ स्पष्ट पारेकाे छ।
कतिपय संक्रमितहरू संक्रमणका बखत उचित खानपिन र क्वारेन्टाइनको अभावमा ठूलो समस्यामा पर्ने भएकाले दैनिक कमाएर गुजारा गर्नुपर्ने निम्न आय भएका वर्गहरूलाई लक्षित गरी उनीहरूलाई सहयोग गर्न महासंघले आइसाेलेसन सेन्टर संचालनमा ल्याएको महासंघका अध्यक्ष शेखर गोल्छाले बताए। यस्ता आइसाेलेसन सेन्टरको संचालनबाट कोरोना संक्रमण नियन्त्रणमा समेत सघाउ पुग्ने अध्यक्ष गोल्छाकाे भनाइ छ।
आइसाेलेसन सेन्टर स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गरेका महासंघको कार्यकारिणी समितिका सदस्य रंजितराज आचार्यले विभिन्न संघ संस्थाहरूको सहयोग र समन्वयमा यस्ता सेन्टरहरू अन्य ठाउँमा पनि विस्तार गर्दै जाने योजना रहेको बताए। जैन ज्ञान भवनमा संचालनमा ल्याउन लागेको आइसाेलेसन सेन्टर स्थापनामा सहयोग गर्ने सवै संघ/संस्थालाई उनले धन्यवाद समेत दिएका छन्।
आफ्नाे संस्थाबाट सधै समाज सेवा र यस्ता कार्यक्रम आयोजना गर्दै आएकाे बताउँदै महावीर जैन–निकेतनका अध्यक्ष विजय दुगडले स्थान उपलव्ध गराई यो महामारीमा केही गर्न पाएकोमा अत्यन्त खुशी भएकाे बताए।
महासंघले कोभिड–१९ को नयाँ भेरियण्टको संक्रमणको महामारीबाट आक्रान्त आम सर्वसाधारणको स्वास्थ्य सुरक्षालाई उच्चतम प्राथमिकतामा राखी एफएनसीसीआई अपरेशन कोभिड रिलिफ नेपाल अभियानको थालनी गरेको र सोही अभियान अन्तरगत उक्त आइसाेलेसन सेन्टर संचालनमा ल्याउन लागिएको हो। महासघले यसअघि कोभिड संक्रमितहरूलाई उचित स्वास्थ्य परामर्शका लागि हेल्लो डाक्टर संचालनमा ल्याइसकेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।