काठमाडाैं- कोरोना संक्रमणको अवस्था भयावह बन्दै गएपछि काठमाडौंको चन्द्रागिरी नगरपालिका एक हप्ता सिल गरिएकाे छ।
नगरप्रमुख घनश्याम गिरीले बुधबार सूचना जारी गर्दै यही जेठ १ गते बिहान ६ बजेदेखि ७ गते बिहान ५ बजेसम्म नगगरपालिका सिल गर्ने निर्णय गरिएकाे जानकारी दिएका हुन्।
सो अवधिमा घर बाहिर हिँडडुल गर्न पुर्णरुपमा रोक लगाएकाे छ। औषधि पसल र स्वास्थ्य संस्थाका अत्यावश्यक सेवा बाहेकका अन्य सेवा र सम्पूर्ण खाद्यान्न पसल, किराना पसल, मासु पसल, फलफुल तथा तरकारी पसल, निर्माण व्यवसायी लगायतका पसलहरु बन्द रहने छन्।
यस्तै, नगरपालिकाका वडा कार्यालय, नगरबाट संचालित योजनाहरु, सरकारी, गैर सरकारी, बैंक तथा वित्तीय संस्थाहरु, निजी सम्पूर्ण कार्यालयका सेवाहरु पुर्णरुपमा बन्द हुने सूचनामा उल्लेख छ।
खानेपानी ढुवानीका साधन, दुग्ध उत्पादन र दूग्ध उद्योगबाट उत्पादित दुधको ढुवानीका साधनलाई स्वास्थ्य सुरक्षा मापदण्ड (ट्यांकर चालकले पीपीईसहित मास्क, स्यानिटाईजर, पञ्जा आदि) लगायतको पालना गरी सञ्चालन गर्न दिइने छ।
यता, काेराेनाविरुद्धकाे खाेप भेरोसिलको दोस्रो मात्रा लगाउने कार्यमा पहिलो पटक खोप लगाएको खोप कार्ड भएको व्यक्ति मात्र खोप लगाउनका लागि तोकिएको खोपकेन्द्रसम्म आवतजावत गर्न दिइने सूचनामा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।