काठमाडौं- काठमाडौं उपत्यकामा भाेलि (बिहीबार)देखि अत्यावश्यकबाहेकका सबै कार्यालय बन्द हुने भएको छ।
काठमाडौं जिल्ला प्रशासनले बुधबार एक सूचना जारी गरी काेराेना भाइरसकाे जोखिम बढ्दो क्रममा रहेकाले निषेधाज्ञाको अवधिभर अत्यावश्यकबाहेकका सबै कार्यालय बन्द हुने जानकारी दिएकाे हाे।
'निषेधाज्ञाको अवधिभर अत्यावश्यक सेवाको कार्यालय बाहेक अन्य सबै जिल्लास्थित कार्यालय यही वैशाख ३० गतेदेखि बन्द गर्ने/गराउने व्यवस्थाका लागि जानकारी गराइन्छ,' काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीद्धारा जारी सार्वजनिक सूचनामा उल्लेख छ।
सूचनामा अत्यावश्यक सेवाका कार्यालयलाई सेवा प्रवाहमा कुनै व्यवधान आउन नदिइ न्यूनतम जनशक्तिमा सेवा प्रवाहको व्यवस्थापन गर्नसमेत भनिएको छ।
यसैबीच उपत्यकामा आज राति १२ बजेदेखि लागू हुनेगरी आगामी जेठ १३ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ। आज राति १२ बजेदेखि तोकिएको निषेधाज्ञाको समयावधि सकिन लागेकाले रातिदेखिनै लागू हुनेगरी थप दुई हप्ता उक्त आदेश जारी गरिएको हो।
उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाको आदेश जारी भएको थियो। त्यसपछि वैशाख २२ गते पुनः एक साता थप गर्दे आज राति १२ बजेसम्मका लागि समय थपिएको थियो। संक्रमण दर नघटेपछि पुनः दुई साता थप गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।