काठमाडाैं- सरकारले आन्तरिक उडान अनिश्चतकालका लागि बन्द गर्ने तयारी गरेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले जेठ १ गतेबाट अर्को आदेश नभएसम्मका लागि आन्तरिक उडान बन्द गर्ने तयारी गरेको हो। यसअघि लगाइएको उडान प्रतिबन्धको समयावधि वैशाख ३१ मा सकिँदै छ।
प्राधिकरण स्रोतका अनुसार बिहीबार (भोलि) यसबारे निर्णय गरी सर्कुलर जारी गर्ने तयारी भएको छ। प्राधिकरणले यसअघि अन्तर्राष्ट्रिय उडानमा लगाइएको प्रतिबन्ध ३१ मे (जेठ १७ गते) सम्म लम्ब्याउने निर्णय गरिसकेको छ।
मंगलबार सूचना जारी गर्दै जेठ १७ गते मध्यरातिसम्म अन्तर्राष्ट्रिय उडान बन्द गर्ने जानकारी दिएको थियो। भारतसँग भने एयर बबल उडानअनुसार सातामा दुई उडान हुनेछ।
कोरोना भाइरसको दोस्रो लहर तीव्र बनेपछि वैशाख २२ गते मध्यरातिदेखि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान बन्द गरिएको थियो। वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरिएको भए पनि कोरोना संक्रमण झन् बढेपछि उडान प्रतिबन्ध लम्ब्याउन लागिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।