काठमाडाैं- कोरोना भाइरसको संक्रमणबाट पूर्वबैंकर निरज श्रेष्ठको निधन भएको छ। कोरोना संक्रमणपछि नेपाल प्रहरी अस्पतालमा भर्ना भएका उनको बुधबार बिहान करिब ११ बजे निधन भएको हो।
पारिवारिक स्रोतका अनुसार मंगलबार गाह्रो भएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो। बैंकर श्रेष्ठले मंगलबारमात्रै बुबालाई गुमाएका थिए। बुबाको पनि कोरोनाकै कारण मृत्यु भएको थियो। त्यसको एक दिनपछि नै बैंकर श्रेठको निधन भएको हो।
माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत भएका उनले त्यसअघि ग्लोबल आइएमई बैंक र एनआईसी एसिया बैंकमासमेत काम गरेका थिए। उनी सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृतसमेत नियुक्त भएका थिए। तर, उक्त बैंकको बोर्डमा विवाद भएपछि उनले त्यहाँ प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गर्न पाएनन्।
तत्कालीन ग्रीनलेज बैंकबाट सन् १९८९ मा बैंकिङ करिअर सुरु गरेका श्रेष्ठलाई इमान्दार र कुशल बैंकरको रुपमा चिनिन्थ्यो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।