काठमाडौं– गण्डकी प्रदेशमा थप १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सोमबा राति यता प्रदेशका विभिन्न ठाउँमा गरी १६ जनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा कास्की जिल्लाका सबैभन्दा बढी ८ जना छन्। यस्तै, म्याग्दीका ३, तनहुँका ३, बाग्लुङका १ र गोरखा १ जनाको मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ।
थप १६ जनाको मृत्यु भएसँगै गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या ३०४ पुगेको स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिएका छन्।
यस्तै, गत २४ घण्टाको अवधिमा गण्डकी प्रदेशमा थप ९४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको निर्देशक डा शर्माले जानकारी दिए।
नयाँ थपिएका संक्रमितमध्ये सबैभन्दा बढी कास्की जिल्लाका २५१ छन्। यस्तै, बाग्लुङका थप २३५, स्याङ्जाका थप १६८ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ।
गण्डकी प्रदेशमा थपिएका अन्य संक्रमितमध्ये मुस्ताङका २७, मनाङका २८, म्याग्दीका ४०, पर्वतका ३१, गोरखाका ८१, लमजुङका १, तनहुँका ११ र नवलपरासी पूर्वका ८६ जना छन्।
विभिन्न ल्याबहरुमा एन्टिजेन र पीसीआर विधिबाट गरिएको नमूना परीक्षणका क्रममा सो संख्यामा संक्रमितहरु पुष्टि भएका हुन्। पछिल्लो २४ घण्टामा थपिएका संक्रमितहरु समेत गरी गण्डकी प्रदेशमा हालसम्म कोरोना संक्रमण हुनेको संख्या २५ हजार ४४७ पुगेको छ।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।