काठमाडौं– कोरोना भाइरस संक्रमणको अवस्था भयावह बनेको भन्दै नेपाल चिकित्सक संघले देशव्यापी ‘रेड अलर्ट’ जारी गरेको छ।
संघका अध्यक्ष डा लोचन कार्की र महासचिव डा बद्री रिजालले बुधबार एक अपिल जारी गर्दै नेपालको स्वास्थ्य अवस्थालाई गम्भीर रुपमा मनन गरेर ‘रेड अलर्ट’ जारी गरिएको बताएका छन्।
संघले देशको स्वास्थ्य प्रणालीलाई थप ढल्न नदिन सबैले भरथेग गर्न आवश्यक रहेको पनि बताएको छ। ‘सरकारहरु, राजनीतिक दलहरु, निजी क्षेत्र, सहयोगी निकायहरु सबैले जनताको जीवन रक्षाका लागि लागि कहाँ कति योगदान गर्न सकिन्छ गरौं,’ चिकित्सक संघको अपिलमा भनिएको छ, ‘एउटा राष्ट्रिय संकल्पका साथ यो महामारीविरुद्ध लडौं। हामी कोरोना युद्धमा होमिएका छौं, दृढतापूर्वक खटिने छौं।’
संघले कोरोना संक्रमणको भयावहपूर्ण अवस्थामा सबै राजनीतिक दलहरुलाई एक ठाउँमा ल्याउन र महामारीविरुद्ध जुट्न अभिभावक भूमिका निर्वाह गर्न राष्ट्रपतिलाई अपिल समेत गरेको छ।
‘यस्तो भयावहपूर्ण अवस्थामा नेपालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको मनोबल उच्च पार्न, सम्पूर्ण नागरिकहरुको जीवन रक्षाका निमित्त सबैले हातेमालो गर्दै समन्वयात्मक भूमिका निर्वाह गर्नु अपरिहार्य रहेको छ,’ संघको अपिलमा भनिएको छ।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।