बागलुङ- गलकोट नगरपालिका वडा नम्बर ५ मा ११ शय्याको अक्सिजनसहितको आइसोलेसन निर्माण गरिएको छ। गलकोट नगर अस्पतालमा कोरोनाको पहिलो चरणमा स्थापना गरिएको कोभिड अस्पतालाई स्तरोन्नती गरि अक्सिजनसहितको आइसोलेसन बनाइएको हो।
विगतमा पाँच शय्या मात्र रहेको उक्त कोभिड अस्पताललाई अहिले ११ शय्याको बनाइएको हो। सम्भावित जोखिमलाई मध्यनजर गर्दै शय्या थप गरिएको नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले जानकारी दिए।
अस्पतालमा २ जना डाक्टर, १ जना नर्स, १ जना कार्यलय सहयोगी राखिएको गैरेको भनाइ छ। अस्पतालमा एम्बुलेन्स सहितको सेवाका लागि एम्बुलेन्स चालकको समेत व्यवस्था गरिएको गल्कोट नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष नारायणध्वज मल्लले जानकारी दिए।
सरकारले प्रत्येक पालिकामा अस्थायी कोरोना अस्पताल बनाउने नीति अनुसार गलकोट पनि बनाइएको हो। अस्पतालमा कोरोना संक्रमित बिरामीको अवस्था हेरेर उपचार गरिने र बिरामीको थप उपचारको आवश्यक परेमा अन्यत्र पठाइने नगर अस्पतालका प्रमुख डाक्टर निक्सन डंगोलले जानकारी दिए। अस्पतालमा अहिले सानो ठूलो गरि १६ वटा अक्सिजन सिलिन्डर रहेका छन्।
अस्पतालमा आवश्यक पर्ने सिलिन्डर दाताहरुबाट सहयोग प्राप्त भएको बताइएको छ। ५ वटा ठुलो सिलिन्डर मञ्जेश बम मल्लले र अन्य ४ वटा वडा नम्बर २ का वडा अध्यक्ष हिमबहादुर भण्डारी, इलाका प्रहरी कार्यलय, व्यवसायी केयरसिंह खत्री, योगेस भण्डारीको सहयोगमा संकलन भएको हो।
नगरपालिकाले नगर क्षेत्रमा कोरोनको गति तीव्र रुपमा फैलिरहेकोले सम्पुर्ण नगरबासीमा सचेत रहन आग्रह समेत गरेको छ। नगरपालिकाले स्वास्थ्यमा केही समस्या परेमा डाक्टरलाई सम्पर्क गर्न समेत अनुरोध गरेको छ। स्वास्थ्य समस्या भए ९८६०१५२३३३, ९८४९०२८२४०, ९८५७६४०७५१, ९८५७६४०७५२ र ९८५७६५६५२९ मा सम्पर्क गर्न समेत नगरपालिकाले अनुरोध गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।