काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघले कोभिड-१९ सहायता केन्द्र स्थापना गरेको छ। महासंघले मुलुकमा बढ्दो कोभिड-१९ को संक्रमण रोकथाम तथा नियन्त्रण गरी आम सर्वसाधारणको जीवनरक्षामा सहयोग पुर्याउने उद्देश्यले महासंघको कार्यालयमा सहायता केन्द्र स्थापना गरेको हो।
महासंघका पदाधिकारी र सम्बद्ध अधिकारीहरूको हालै बसेको बैठकले उक्त सहायता केन्द्र स्थापना गर्ने निर्णय गरेको महासंघले जनाएको छ। उक्त केन्द्रको समन्वय महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले गरेका छन्।
कोभिड-१९ सहायता केन्द्रलाई प्रभावकारी रूपमा अगाडि बढाउन जिम्मेवारी बाँडफाँडसमेत गरिएको छ।

सहायता केन्द्रबाट सेवा लिन महासंघ सचिवालयका सम्पर्क अधिकृतद्वय हरि पौड्याल (९८०१०९६८१२) र रिंकु घिमिरे (९८०११९२५९१) लाई टेलिफोन वा एसएमएसमार्फत् सम्पर्क गरी आफूलाई आवश्यक सेवा टिपाउन सकिने महासंघले जानकारी दिएको छ।
‘सहायता केन्द्रमा तोकिएको जिम्मेवारीअनुसार सदस्यहरूले महासंघका सदस्य, उद्यमी व्यवसायी एवं सर्वसाधारणको मागअनुसार सेवा प्रवाह गर्न सहजीकरण र समन्वयका लागि सम्बन्धित निकायसँग पहल गर्नुहुनेछ। सहायता केन्द्रका तर्फबाट यतिखेर सेवा प्रवाहमा निकै ठूलो भूमिका निर्वाह भइरहेको छ। समस्यामा परेका, कोरोना उपचारमा सहजीकरण र समन्वय खोजिरहेका निकै धेरै मानिसहरूलाई स्वास्थ्य सहायता केन्द्रको तर्फबाट निरन्तर सहयोग एवं समन्वयसमेत भइरहेको छ,’ महासंघले भनेको छ।
मुलुक संकटमा पर्दा महासंघले संस्थागत सामाजिक उत्तरदायित्वलाई मनन गरी हरेक पटक सहयोग पुर्याउँदै आएको छ। एफएनसीसीआई अपरेसन कोभिड रिलिफ नेपाल अभियानअन्तर्गत महासंघले यसअघि ‘हेल्लो डाक्टर’ सञ्चालनमा ल्याई कोभिड संक्रमणमा परेकालाई डाक्टरहरूबाट स्वास्थ्य परमर्श दिने कार्यको सुरूआत गरिसकेको छ।
‘मुलुकले कहिल्यै भोग्नु नपरेको यो महामारीबाट संक्रमित र मृत्यु हुनेको संख्या उकालो लागिरहेको छ। महामारीको बढ्दो संक्रमणलाई नियन्त्रण गरी आमसर्वसाधारणको स्वास्थ्य सुरक्षा गर्नु यतिबेला सबैको परम कर्तव्य भएकाले आ-आफ्नो ठाउँबाट सकेको सहयोग गर्न र अधिकतम स्वास्थ्य सचेतना अपनाउन महासंघ सबैमा गम्भीर आग्रह गर्दछ,’ महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।