काठमाडौं– नेपाली कांग्रेसका केन्दीय सदस्य तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकमा कोभिड १९ सेवा केन्द्र स्थापना गर्ने घोषणा गरेका छन्।
जिल्लामा संक्रमणको दर तीव्र रुपमा बढेकाले उपचारमा सहज होस् भन्ने उद्देश्यले एक सय बेडको कोभिड १९ सेवा केन्द्र एक महिनाभित्र स्थापना गर्ने घोषणा बस्नेतले गरेका हुन्।
सेवा केन्द्रमा अक्सिजन, भेन्टिलेटरसम्मको व्यवस्था गरिने उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।
ततकाल कोभिड १९ लाई लक्षित गरी स्थापना हुने सेवाकेन्द्र रोग नियन्त्रणमा आएपछि सरुवा रोग नियन्त्रण केन्द्रको रुपमा रुपान्तरण गर्ने बस्नेतको भनाइ छ।
सेवाकेन्द्रमा निकट भविष्यमा नै कोरोना परीक्षण गर्ने पीसीआर मेसिनसमेत उपलब्ध गराउने उनले बताए।
यसैगरी कोरोना संक्रमण र अन्य रोग लागेका बिरामीलाई अस्पताल पुर्याउन बस्नेतले गाडीसमेत उपलब्ध गराउने भएका छन्।
उनले उपलब्ध गराउने गाडी पछि फिर्ता नलिने बताउँदै सञ्चालक समिति बनाएर त्यसलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्न सकिने जानकारी दिएका छन्।
कोभिड १९ को महामारीलाई ध्यानमा राख्दै १ वर्षसम्म सवारी चालकको तलब भत्ता, गाडीमा प्रयोग हुने डिजेलसमेत आफैले उपलब्ध गराउने प्रतिबद्धतासमेत बस्नेतले व्यक्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।