काठमाडाैं- कोरोना भाइरसको संक्रमणबाट पछिल्ला सात दिनमै ६६७ जनाले ज्यान गुमाएका छन्। वैशाख २२ देखि २८ गतेसम्म उक्त संख्यामा संक्रमितको मृत्यु भएको हो।
यो संख्या वैशाख महिनाको सुरुआती तीन हप्तामा भएको मृत्यु संख्याभन्दा करिब दोब्बरले बढी हो। वैशाख १ देखि २१ गतेसम्म जम्मा ३५९ जनाको मृत्यु भएको थियो। २८ गते (आज) सम्म वैशाख महिनामा मृत्यु हुनेको संख्या एक हजार २६ पुगेको छ।
पछिल्ला दिनहरुमा संक्रमितसँगै मृत्यु हुनेको संख्या उच्च बनेको छ। वैशाख २१ गतेयता दैनिक ५० भन्दा बढीको मृत्यु हुँदै आएको छ। वैशाख २२ मा ५८ जना, वैशाख २३ मा ५४ जना, वैशाख २४ मा ५० जना, वैशाख २५ मा ५३ जना र वैशाख २६ मा ८८ जनाको मृत्यु भएको तथ्यांक छ। हिजो वैशाख २७ मा मृत्यु हुनेको संख्या १३९ पुगेकोमा आज एकै दिन २२५ जनाको मृत्यु भएको छ। आजको मृत्यु संख्या एकै दिन मृत्यु हुनेमा हालसम्मकै सबैभन्दा धेरै हो।
यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या चार हजार नाघेको छ। आजसम्म कूल चार हजार ४८ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।
कोरोनाबाट मृत्यु हुने दर पहिलो लहरमाभन्दा बढी रहेको चिकित्सकहरुको भनाइ छ। कोरोनाको नयाँ भेरियन्ट पहिलेकोभन्दा कडा रहेको भन्दै सतर्कता अपनाउन चिकित्सकहरुले सचेत गराउँदै आएका छन्।
यसैगरी पहिलो लहरमा कोरोनाबाट मृत्यु हुने वृद्धवृद्धा र दीर्घरोगी बढी थिए। तर, दोस्रो लहरमा युवाहरुको पनि संक्रमणबाट मृत्यु भइरहेको तथ्यांक छ।
यसपटक संक्रमितको संख्या ह्वात्तै बढेसँगै अस्पतालहरुमा बेड, भेन्टिलेटर तथा अक्सिजन सिलिण्डरको अभाव देखिएको छ। जसले गर्दा पनि समयमा उपचार नपाउँदा धेरैले ज्यान गुमाउन पुगेका छन्।
सरकारी अस्पतालहरुमा बेडको अभाव हुँदा अस्पतालबाहिरै राखेर बिरामीलाई अक्सिजन दिइरहेका दृश्यहरु सञ्चारमाध्यममा आइरहेका छन्। यसले नेपालमा कोरोना संक्रमणको अवस्था भयावह बनेको पुष्टि हुन्छ।
वैशाखमा एक लाख ३२ हजार संक्रमित थपिए
स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार वैशाख महिनामा मात्रै (२८ गतेसम्म) एक लाख ३२ हजार ५१० जना संक्रमित थपिएका छन्। तीन लाख ५२ हजार ११ जनाको पीसीआर परीक्षणबाट ती संक्रमित पहिचान भएका हुन्। यो महिनाको औसत संक्रमणदर ३७.६४ प्रतिशत रहेको छ। यसको अर्थ हरेक १०० जनाको पीसीआर परीक्षण गर्दा ३७ जना संक्रमित देखिएका छन्। वैशाख २७ मा संक्रमणदर हालसम्मकै सबैभन्दा बढी ५२.६१ प्रतिशत कायम भएको थियो।
गत २४ घण्टामा हालसम्मकै सबैभन्दा बढी नाै हजार ४८३ जनामा संक्रमण पुष्टि भएको छ। उक्त अवधिमा २० हजार ५९६ जनाको पीसीआर र ७२० जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो।
पछिल्लो सात दिनभित्र नेपालभर ६२ हजार ४८९ जनामा संक्रमण पुष्टि भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।