काठमाडौं- शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले नेपालको स्वास्थ्य प्रणाली नै ध्वस्त भएको भन्दै स्वास्थ्य नीति परिर्वतन गर्न सुझाव दिएका छन्।
काठमाडौं महानगरपालिकाले मंगलबार जिल्लाभित्र भएका डेडिकेटेड कोभिड अस्पतालका प्रमुखसँग गरेको छलफलमा डाक्टर अधिकारीले ‘हेल्थ सिस्टम नै कोल्याप्स’ भएको दाबी गरेका हुन्।
सरकारले कोभिड उपचारका लागि तोकेका अस्पतालले संक्रमितको उपचारको जिम्मा लिन नसकेको, अस्पतालमा बेड संख्या बढाउने कार्य भाषणमा मात्रै सीमित भएको र जिम्मेवार निकायले दायित्व पूरा गर्न नसकेका कारण कोभिड संक्रमितलगायत समग्र स्वास्थ्य उपचारको स्थिति जटिल बन्दै गएको उनको भनाइ छ।
‘वीर अस्पतालको ५ सय शय्याको छ तर अहिलेसम्म सञ्चालन गर्न नसक्नु भनेको लाजमर्दो अवस्था हो। हामी के हेरेर बसिरहेका छौं? हाम्रा बिरामी इमर्जेन्सी बाहिर बसिरहेका छन्। ५ सय शय्याको वीर अस्पताल टुलुटुलु हेरेर बस्नुपर्ने! यसको जिम्मा कस्ले लिने?’, उनले भने।
उनले उपचारका लागि नीति परिर्वतन गर्नुपर्ने आवश्यकता औंल्याए। बेड बढाउने विषय नै मुख्य व्यवस्थापन रहेको भन्दै उनले ७० वर्ष भन्दा माथिका संक्रमितलाई भेन्टिलेटरमा नराख्ने भन्ने निर्णय लिनुपर्ने अवस्था आएको टिप्पणी गरे।
सबै अस्पतालहरूमा भेन्टिलेटर, इन्टेन्सिभ केयर युनिट (आईसीयू), हाइ डिपेन्डेन्सी युनिट (एचडीयू) बिरामीले भरिएको अवस्था रहेकाले तत्काल अन्य कोभिडका बिरामीको उपचार गर्न सक्ने अवस्था नरहेको डा. अधिकारीले बताए।
‘हाम्रो अस्पताल कोभिड अस्पताल थिएन। अब हाम्रो अस्पताल कोभिड अस्पताल भइसक्यो। अहिले थप गरेर २१ वटा आईसीयू बनाएका छौं। अब हाम्रोमा कुनै पनि आईसीयू छैन। इमर्जेन्सीलाई पनि फूल कोभिड बनाएका छौं’, उनले भने, ‘हामीले अर्को अस्थायी किसिमको संरचनालाई इमर्जेन्सी बनाउनुपरेको छ। अहिले मलाई एउटा फोन आइरहेको थियो एकजना मुटुसम्बन्धी रोग लागेको बिरामीलाई लिइदिनुहोस् भनेर। हामीले लिन सक्ने अवस्थामा छैनौं।’
९० वटा अक्सिजन सिलिण्डर प्रतिदिन प्रयोग गर्ने गरेकोमा अहिले १ सय ८५ सिलिण्डर प्रतिदिन प्रयोग गरिरहेको डा अधिकारीले बताए।
वीर अस्पतालकी निमित्त निर्देशक डा शान्ता सापकोटाले अक्सिजनको अभावका कारण अपेक्षित ढंगले काम गर्न नसकेको बताइन्। ‘अक्सिजन प्लाण्टबाट दैनिक १ सय ५० सिलिण्डर उत्पादन हुन्छ। दुईवटा भवनमा गरेर ३ सय सिलिण्डर प्रतिदिन खपत भइरहेको तर सप्लायर्सले १ सय २३ सिलिण्डर भन्दा बढी दिँदैन अनि मैले कसरी गर्न सक्छु?’, उनले भनिन्।
महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सरकारले तोकेका डेडिकेटेड कोभिड अस्पताललाई बिरामीको उपचारका लागि आवश्यक पर्ने स्रोत साधनमा सहयोग गर्ने प्रतिवद्धता जनाए।
‘महामारी रोक्न कस्ता सामग्री तथा उपकरण आवश्यक पर्छन्। तिनको बजारमा उपलब्धता कस्तो छ? यसै भन्न सकिने अवस्था छैन’, मेयर शाक्यले भने, ‘तर, महामारी नियन्त्रणमा हामीले हात उठाउन मिल्दैन। उपलब्ध साधनको उच्चतम उपयोग गरेर महामारी रोकौँ। हाम्रो प्राथमिकता भनेको संक्रमण र यसबाट हुने मानवीय क्षति रोक्नु हो। यसका लागि तपार्ईहरूलाई आवश्यक पर्ने थप स्रोतमा हामी सहयोग गर्छौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।