काठमाडौं- लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। अस्पतालको इमर्जेन्सीमा विभागमा उपचाररत उनीहरूको मृत्यु भएको हो।
अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार मृत्यु हुनेमा रूपन्देहीका ७ जना र कपिलवस्तुका ३ जना रहेका छन्। यस्तै, नवलपरासी पश्चिम र प्युठानका एक/एक जनाको उपचारका क्रममा मृत्यु भएको हो।
१२ जनामध्ये ११ जना पुरुष र एकजना महिला रहेका डा. गौतमले बताए। यीमध्ये ५ जनाको गएराति १२ बजे यता बिहानसम्म, ४ जनाको सोमबार दिउँसो साढे ४ बजेपछि राति १२ बजेसम्म मृत्यु भएको हो।
एकजनाको २४ गते दिउँसो र दुई जनाको २६ गते मृत्यु भएको उनले बताए। २४ गते र २६ गते मृत्यु भएका संक्रमितको शव व्यवस्थापन नभएकाले मंगलबार मात्र जानकारीमा आएको डा. गौतमले बताए।
डा. गौतमका अनुसार उनीहरू सबै निमोनियाले ग्रस्त भएर आएका थिए। ‘स्थिति भयावह छ। उपचाररतमध्ये एक सय भन्दा धेरै जना सिकिस्त हुनुहुन्छ’, डा. गौतमले भने, ‘अस्पतालमा अक्सिजनको पनि अभाव भइरहेको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।