काठमाडौं– महानगरीय प्रहरी परिसर ललितपुरले प्रयोगविहीन रहेका २३० थान अक्सिजन सिलिन्डर संकलन गरी अस्पताललाई बुझाएको छ।
कोभिड–१९ को संक्रमणबाट बिरामीको चाप बढेपछि उपचारको क्रममा अत्यावश्यक अक्सिजन सिलिन्डरको अभाव देखिएपछि ललितपुरका विभिन्न स्थानमा प्रयोग विहीन भएर बसेका २३० थान अक्सिजन सिलिन्डर संकलन गरी बुझाइएको ललितपुर प्रहरीका प्रवक्ता एसपी प्रज्वल महर्जनले बताए।
संकलन गरिएका अक्सिजन सिलिन्डरमध्ये डीसीसिएमसीको बैठकबाट निर्णय भए अनुसार पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ८० थान, किस्ट मेडिकल कलेज इमाडोललाई ५० थान, बज्रबाराही अस्पताल चापागाउँलाई १० थान, अल्का अस्पताल जावलाखेललाई १५ थान दिइएको छ।
त्यसैगरी सुमेरु अस्पताल धापाखेललाई १० थान, स्टार अस्पताललाई २० थान, मेघा अस्पताललाई २० थान, गणेशमान सिंह अस्पताललाई १० थान र ललितपुर महानगरपालिकाबाट संचालित बागडोलस्थित वृद्राश्रममा रहेको आइसोलेशन सेन्टरलाई १५ थान अक्सिजन सिलिन्डर बिरामीहरुको प्रयोजनका लागि बुझाइएको छ ।
अक्सिजन उत्पादन कार्यमा संलग्न रहेका उद्योगीको रोटेशनमा नरहेका अक्सिजन सिलिन्डरहरुको विवरण समेत माग गरी स्टक एवं डम्प भई बसेका सिलिन्डरको खोजी कार्यमा प्रहरीले तिव्रता ल्याएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।