काठमाडौं– भारतमा उच्च संख्यामा बढिरहेको कोरोना संक्रमितको संख्या केही घटेको छ। केही दिनदेखि दैनिक चार लाखको हाराहारीमा बढिरहेको संक्रमित संख्या पछिल्लो २४ घण्टामा केही घटेको हो। उक्त समयमा त्यहाँ साढे तीन लाखको हाराहारीमा नयाँ संक्रमित थपिएका छन् भने मृतकको संख्यामा पनि केही कमी आएको छ।
पछिल्लो २४ घण्टामा त्यहाँ ३ लाख ६६ हजार ४९९ जना नयाँ संक्रमित थपिँदा ३७ सय ४८ जनाको मृत्यु भएको छ। यो दुवै संख्या अघिल्लो दिनको तुलनामा कम हो। अघिल्लो दिन भारतमा ४ लाखभन्दा बढी संक्रमित थपिएका थिए भने ४ हजारभन्दा बढीको निधन भएको थियो।
कुल संक्रमित संख्याका आधारमा दोस्रो स्थानमा रहेको भारतमा कोरोना संक्रमितको संख्या २ करोड २२ लाख नाघेको छ।
पछिल्लो केही दिनयता दैनिक मृतकको संख्यामा समेत रेकर्ड बन्न थालेको भारतमा पछिल्लो २४ घण्टामा ३७ सय ४८ जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणकै कारण भारतमा मृत्यु हुनेको कुल संख्या दुई लाख ४६ हजार १४७ पुगेको छ।
संक्रमितमध्ये एक करोड ८६ लाखभन्दा बढी निको भइसकेका छन् ३७ लाखभन्दा बढी सक्रिय संक्रमित रहेका छन्।
विश्वमा कुल संक्रमितका आधारमा अगाडि रहेको अमेरिकामा तीन करोड ३४ लाखभन्दा बढी संक्रमित रहेका छन्। पछिल्लो २४ घण्टामा त्यहाँ करिब २१ हजार संक्रमित थपिएका छन् भने २४१ जनाको मृत्यु भएको छ।
तेस्रोमा रहेको ब्राजिलमा करिब एक करोड ५१ लाख संक्रमित रहेका छन्। त्यहाँ पछिल्लो २४ घण्टामा ३४ हजारभन्दा बढी संक्रमित थपिँदा ९३४ जनाको मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।