काठमाडौं– राष्ट्रिय ट्रमा सेन्टर अब कोभिड-१९ संक्रमितको मात्र उपचार गर्ने अस्पतालका रुपमा प्रयोगमा ल्याइने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय (सचिवस्तरको) निर्णयानुसार ट्रमा सेन्टरलाई कोभिड-१९ संक्रमितको मात्र उपचार गर्ने अस्पतालका रुपमा प्रयोगमा ल्याइने भएको हो।
मन्त्रालयले ट्रमा सेन्टरलाई कोभिड अस्पतालका रुपमा चलाउने निर्णय गरेसँगै हाल ट्रमामा उपचाररत बिरामीलाई वीर अस्पताल र जोरपाटीस्थित नेपाल अर्थोपेडिक अस्पतालमा व्यवस्थापन गरिने भएको छ।
मन्त्रालयमा आइतबार बसेको छलफलपछि सचिवस्तरीय निर्णय गर्दै ट्रमाका बिरामीलाई वीर र अर्थोपेडिक अस्पतालमा व्यवस्थापन गर्न निर्देशक दिइएको छ।
ट्रमाको एम्बलेन्समा अर्थोपेडिक अस्पतालमा बिरामी लगिने छ। अर्थोपेडिक अस्पतालमा पनि ट्रमा सेन्टरकै शुल्कमा उपचार हुनेछ।
ट्रमा सेन्टरमा हाल ६४ जना बिरामी उपचाररत छन्। ती बिरामीलाई अन्यत्र व्यवस्थापन गरेपछि ट्रमामा २ सय शय्याको कोभिड अस्पताल सञ्चालन हुने छ।
मन्त्रालयले ट्रमासँगै वीर अस्पतालमा पनि २ सय शय्या र वीर अस्पतालको नयाँ सर्जिलक भवनमा पहिलो चरणमा १५० शय्याको कोभिड अस्पताल चलाउने निर्णय गरेको छ।
शनिबार बसेको मन्त्रिपरिषद्को बैठकले वीरको नयाँ भवनमा कोभिड बिरामीका लागि ५०० शय्याको युनिफाइड केन्द्रीय अस्पताल चलाउने निर्णय समेत गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।