काठमाडौं- उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाविरुद्वको लडाइँमा वैज्ञानिक एवं राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले खेलेको भूमिकाको प्रशंसा गरेका छन्।
सिंहदरबारमा आज भएको भेटमा कोरोनाविरुद्वको लडाइँमा पुनले खेलेको भूमिकाको उपप्रधानमन्त्री पोखरेलले प्रशंसा गरेका हुन्। कोरोनाविरुद्वको लडाइँ सफल बनाउन सबै नागरिकको सकारात्मक भूमिका जरुरी रहेको उनको भनाइ थियो।
भेटमा अध्यक्ष पुनले कोरोनाको संकट आउनासाथ आफूहरूले ११ प्रकारका सामान तयार गरी निःशुल्क वितरण गरिएको जानकारी दिए। उनका अनुसार आविष्कार केन्द्रले अहिलेसम्म ३८ हजार ५०० सेट पीपीई मानवीय हिसाबले निःशुल्क वितरण गरिसकेको छ। वैज्ञानिक पुनले संकटकालीन अवस्था भएकाले त्यहीअनुसारको अध्यादेश र कानुन बनाएर भए पनि जनताको जीवनरक्षा गर्न उपप्रधानमन्त्री पोखरेललाई आग्रह गरे।
उपप्रधानमन्त्री पोखरेलले आविष्कार केन्द्रको कार्य अनुकरणीय रहेकाले यसको सुदृढ जीवनका लागि लाग्न पुनलाई आग्रह गरे। सरकारका तर्फबाट आविष्कार केन्द्रलाई सक्दो सहयोग गर्ने प्रतिबद्धतासमेत उनले जनाए।
उनीहरूबीच कोरोना संकटमा कसरी हातेमालो गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल भएको जानकारी दिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।