काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले कोरोना भाइरस (कोभिड १९) को महामारी नियन्त्रमा गम्भीर हुन सरकारको ध्यानाकर्षण गराएको छ।
राप्रपाका अध्यक्षत्रय कमल थापा, डा प्रकाशचन्द्र लोहनी र पशुपती शमसेर जबराले शनिबार एक विज्ञप्ती जारी गर्दै महामारीका बेला अस्पतालमा बेडको अभाव, अक्सिजन आपूर्तिमा समस्या, आईसीयू र भेन्टिलेटरको कमी, औषधिमा कालोबजारी भइरहेकाले संक्रमितको उपचारमा समस्या पैदा भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन्।
भारतबाट खरिद गरिएको र खरिद गर्न लागिएको खोप कमिसनको चलखेलका कारण आयात रोकिएको खबरले नेपाली जनमानस स्तब्ध, आश्चर्यचकित र आक्रोशित भएको पनि राप्रपाका तीनजना अध्यक्षले उल्लेख गरेका छन्।
जनस्वास्थ्यसँग खेलवाड गर्ने कमिसनखोरहरुमाथि तत्काल छानबिन गरी कारबाही गरी खोपको सहज आपूर्ति गर्न राप्रपाले माग गरेको छ।
राप्रपाले आफ्ना कार्यकर्ताहरुलाई जनताको सेवामा समर्पित हुन आह्वान गरेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।