काठमाडौं– संघीय संसदको प्रमुख प्रतिपक्षी दल नेपाल कांग्रेसले कोभिड–१९ को उपचारमा सरकार संवेदनशील नभएको आरोप लगाएको छ।
आवश्यकता अनुसार अस्पतालहरुको थप व्यवस्था गर्न नसकेकोप्रति कांग्रेसले सरकारको आलोचना गरेको छ। अक्सिजनको समुचित आपूर्ति नभएको जनाउँदै कांग्रेसले अक्सिजन अभावको गम्भीर समस्यालाई तत्काल सम्बोधन गर्न माग गरेको छ।
'कृत्रिम अभाव सृजना गर्नेहरुलाई तत्काल कारबाही गर्न र आवश्यकता अनुसार विदेशबाट पनि अक्सिजन र अक्सिजन सिलिण्डरको आपूर्ति गर्न नेपाली कांग्रेस सरकारसँग माग गर्दछ’, कांग्रेसले गठन गरेको कारोना नियन्त्रण तथा रोकथाम अनुगमन समितिका संयोजक डा प्रकाशशरण महतले निकालेको विज्ञप्तिमा भनिएको छ।
कोभिड–१९ उपचारका लागि अस्थायी अस्पतालहरुको व्यवस्था गरी हरेक नागरिकको उपचार पाउने अधिकारको सुनश्चितता गर्न कांग्रेसले माग गरेको छ।
बिरामीले बेड नपाउनुका साथै अस्पतालहरुमा अक्सिजनको गम्भीर अभाव रहेकोप्रति पनि कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।