काठमाडौं– संघीय संसदका १९ जना सदस्य (सांसद)मा कोरोना भाइरस (कोभिड १९)को संक्रमण देखिएको छ।
वैशाख २२, २३ र २४ गते संकलन गरिएका स्वाबको परीक्षणका क्रममा १९ जना सांसदमा संक्रमण देखिएको संघीय संसद सचिवालयले जानकारी दिएको छ।
कोरोना संक्रमण देखिएकामध्ये १८ जना प्रतिनिधि सभाका सदस्य छन्। यस्तै, १ जना राष्ट्रिय सभाका सदस्य छन्।
सांसद बाहेक संघीय संसदका कर्मचारी, मर्यादापालक, स्वकीय सचिब, सुरक्षाकर्मी, संसदीय मामिला पत्रकार र संघीय संसद भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारी समेत गरी अन्य १४१ जनामा समेत कोरोना भाइरसको संक्रमण देखिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २७ गते प्रतिनिधि सभाको अधिवेशन आह्वान गरेपछि सांसद सहितमा कोरोना परीक्षणका लागि वैशाख २२, २३ र २४ गते गरी १ हजार २ सय ३५ जनाको स्वाब संकलन गरिएको थियो।
स्वाब संकलन गरिएकामध्ये २०५ जना सांसद थिए भने अन्य १ हजार ३० जना संघीय संसदका कर्मचारी, मर्यादापालक, स्वकीय सचिब, सुरक्षाकर्मी, संसदीय मामिला पत्रकार र संघीय संसद भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारी थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।