काठामडाैं- कोरोनाको नयाँ भेरियन्टसहितको बढ्दै गएपछि सर्लाहीमा शनिबार मध्यरातदेखि एकसाता निषेधाज्ञाकाे आदेश जारी गरिएकाे छ।
जिल्ला काेभिड-१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को शुक्रबार बसेकाे बैठकले जिल्लाभरी शनिबार राति १२ बजेदेखि आउँदो शुक्रबार राति १२ बजेसम्मका लागि निषेधाज्ञा लगाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले जानकारी दिए।
निषेधाज्ञा अवधिमा सार्वजनिक यातायात, निजी सवारी साधनमा रोक लगाइएको छ। यस्तै, एम्बुलेन्स, शववाहन, खाद्य सामग्रीको ढुवानी गर्ने सवारी साधन, सरकारी नम्बर प्लेटका सवारी साधन, झण्डाबाहक सवारी, कुटनीतिक नियोगको सवारी, प्रेस पास प्राप्त सवारी साधन चलाउन पाइने उनले जानकारी दिए।
यस्तै, रेष्टुरेन्ट, ब्युटीपार्लर, कपडा पसल, सैलुन, जिमखाना, सुनचाँदी, टेलरिङ, फुटपाथ पसल, शैक्षिक संस्था, ट्युसन सेन्टर र अन्य सबै पसल खोल्नमा रोक लगाइएकाे छ।
अत्यावश्यक सार्वजनिक सेवा, बैँक, वित्तीय संस्था, स्वास्थ्य संस्था, क्लिनिक, अस्पताल र औषधिजन्य पसल, पेट्रोल पम्प भने खुल्न दिइनेछ।
खाद्यान्न, फलफूल तरकारी, दुर डेरी, ग्याँस पसललाई बिहान ७ बजेदेखि १० बजेसम्म मात्र खुल्न दिने निर्णय गरिएकाे छ।
विवाह ब्रतबन्ध, न्वारन, मृत्यु संस्कार लगायतका कार्यक्रममा अनिवार्य रुपमा स्वास्थ्य सुरक्षा मापदण्ड र भौतिक कायम गरी बढीमा १५ जनाभन्दा बढिको उपस्थित हुन पाइने छैन।
मठमन्दिर, मस्जिद, गुम्बा, चर्चहरूमा नित्य पूजाबाहेक अन्य सामूहिक पूजा तथा बली, मेला महोत्सवमा रोक लगाइएको छ।
निषेधाज्ञाकाे आदेशमा समुदाय तथा व्यक्तिले अनिवार्य रुपमा पालना गर्न आग्रह गरिएको छ। निषेधाज्ञा पालना नगर्नेलाई संक्रामक रोग ऐनअनुसार कारबाही गरिने प्रमुख जिल्ला अधिकारी तामाङले जानकारी दिए।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।