काठमाडौं- कोरोना संक्रमित हुने सांसदको संख्या २५ पुगेको छ। प्रतिनिधि सभाको २७ गते बस्ने विशेष अधिवेशनका लागि बुधबार र बिहीबार गरिएको स्वाब संकलनपछि गरिएको परीक्षणबाट थप १४ जना सांसदमा संक्रमण पुष्टि भएको हो।
बुधबार चार जनाको रिपोर्ट पोजिटिभ आएकोमा बिहीबार गरेको परीक्षणमा थप १० जनाको रिपोर्ट पोजिटिभ आएको हो।
यसअघि नै संक्रमित भएर ११ जना सांसद घरमै आइसोलेसन तथा अस्पतालमा उपचार गराइ रहेका छन्। संसद् सचिवालय स्रोतका बुधबार संसद् भवन पुगेर स्वाब दिने ६१३ जनामध्ये ६५ जनामा संक्रमण पुष्टि भएको छ।
जसमध्ये १४ जना सांसद हुन्। बाँकी ५१ जनामा कर्मचारी र पत्रकार रहेको सचिवालयले जनाएको छ। १४ मध्ये एमालेका ८, कांग्रेसका २ र जसपाका ४ जना छन्।
बिहीबार पनि सांसदसहित ५२५ जनाले स्वाब दिएका थिए। जसमध्ये हालसम्म केहीको मात्र रिपोर्ट आएको छ। शुक्रबार १०० जनाको स्वाब संकलन गरिएको छ।
२७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिन राष्ट्रपतिले विशेष अधिवेशन बोलाएकी थिइन्। उक्त अधिवेशन शुरु गर्नुअघि सचिवालयले कोरोना परीक्षण गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।