काठमाडौं - उद्योगहरुमा मौज्दात रहेका अक्सिजन सिलिण्डर नजिकको अक्सिजन उत्पादक प्लान्टमा उपलब्ध गराउन निजी क्षेत्रले आग्रह गरेको छ।
काेराेना संक्रमितकाे उपचारमा अक्सिजन सिलिण्डर अभाव हुन थालेपछि बिहीबार नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले संयुक्त अपील जारी गर्दै सिलिण्डर बुझाउन आग्रह गरेको हो।
मुलुक कहिल्यै भोग्नु नपरेको महामारी र त्यसबाट सिर्जित स्वास्थ्य जटिलतासँगै सामाजिक एवं आर्थिक समस्यासँग जुँधिरहेको छ। काेराेनाकाे दोस्रो लहरसँगै संक्रमित र यसबाट मृत्यु हुनेको संख्या हरेक दिन नयाँ रेकर्ड राख्दै बढिरहेको छ।
अस्पतालहरु भरिँदै गएका छन् भने विशेषगरि संक्रमितको जीवन रक्षाका लागि आवश्यक अक्सिजन सिलिन्डरको चरम अभाव देखिएको छ।
'यस परिस्थितिमा आम उपभोक्ताहरुलाई पनि आफ्नो जस्तै अरुको स्वास्थ्यको पनि ख्याल राख्दै आवश्यकताभन्दा बढि सिलिण्डर सञ्चिति नगरिदिन हुनसमेत व्यवसायीले आग्रह गर्दछाैं। यसका साथै सम्पूर्ण ग्यास उत्पादक कम्पनीहरुलाई स्वास्थ्य उपचार प्रयोजनका लागि मात्र अक्सिजन सिलिन्डर उपलब्ध गराउन पनि अपील गर्दछाैं,' जारी विज्ञप्तिमा भनिएको छ।
यसैगरि अन्य व्यवसायीहरुसँग सिलिण्डर भए त्यसलाई पनि स्वास्थ्य उपचारका लागि प्रयोग गर्नेगरी सम्बन्धित निकायमा उपलब्ध गराइदिन व्यवसायीहरूले आग्रह गरेका छन्।
यता, अत्यावश्यकीय खाद्य सामाग्रीको सञ्चिति र त्यसमा मुल्यवृद्धि भइरहेको भन्ने सर्वसाधारणको गुनासोप्रति पनि ध्यानाकर्षण भएकाे विज्ञप्तिमा जनाइएकाे छ।
'माहामारीको बिषम परिस्थितिमा कुनै पनि प्रकारको सञ्चिति र मूल्यवृद्धि नगर्न हामी निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरु सम्वद्ध सबै व्यवसायीहरुमा अपील गर्दछाैं,' विज्ञप्तिमा भनिएकाे छ,'साथै आम उपभोक्ता वर्गमा सामानको मौज्दात रहेको जानकारी गराउदै अनावश्यक संचिति नगरिदिन हुन पनि अनुरोध गर्दछौं।'
अहिलेको अवस्थामा ठूला उद्योगी एवं वितरकहरुले पनि समग्र वितरण प्रणालीमा अनावश्यक मूल्यवृद्धि हुन नदिन अनुगमन गर्न आवश्यक रहेकाे पनि विज्ञप्तिमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।