काठमाडाैं- काठमाडाैं उपत्यकामा साढे ३२ हजार काेराेनाका संक्रमित पुगेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार सार्वजनिक गरेकाे तथ्याङ्क अनुसार काठमाडाैं, ललितपुर र भक्तपुरमा हाल ३२ हजार ४५२ जना सक्रिय संक्रमित छन्।
त्यसमा काठमाडौं जिल्लामा २४ हजार ५३३, भक्तपुरमा २ हजार ९४५ र ललितपुरमा ४ हजार ९७४ संक्रमित रहेकाे मन्त्रालयले जनाएकाे छ।
यस्तै काठमाडाैं उपत्यकामा मृतककाे संख्या पनि उच्च रहेकाे छ। मन्त्रालयका अनुसार काठमाडौंमा ८०८, भक्तपुरमा १६६ र ललितपुरमा २३० संक्रमितकाे मृत्यु भइसकेकाे छ।
काठमाडौंमा एक लाख ११ हजार १२६ जना कोरोना संक्रमणमुक्त भएका छन्। यस्तै, भक्तपुरमा ९ हजार ७६० र ललितपुरमा १७ हजार ४४९ संक्रमणमुक्त भइसकेका छन्।
२० जिल्लामा पाँच सयभन्दा बढी सक्रिय संक्रमित
देशभर सक्रिय संक्रमितको संख्या ६६ हजार ३५२ पुगेको छ। जसमध्ये २० जिल्लामा पाँच सयभन्दा बढी सक्रिय संक्रमित रहेका छन्।
मन्त्रालयका अनुसार प्रदेश १ को मोरङ, सुनसरी, झापा, प्रदेश २ को पर्सा, धनुषा, बागमती प्रदेशको काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, चितवन र मकवानपुरमा पाँच सय बढी सक्रिय संक्रमित रहेका छन्।
त्यसैगरी, गण्डकी प्रदेशको कास्की, लुम्बिनी प्रदेशको दाङ, बाँके, बर्दिया, पाल्पा, रुपन्देही र कपिलवस्तुमा पाँच सय बढी सक्रिय संक्रमित रहेका छन्।
यता, कर्णाली प्रदेशको सुर्खेत र सुदुरपश्चिम प्रदेशको कैलालीमा पनि पाँच सय बढी सक्रिय संक्रमित रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।