काठमाडाैं- कास्कीको पोखरामा उपचाररत थप चार कोरोना संक्रमितको मृत्यु भएको छ। बुधबार राति र बिहीबार बिहान गरी कुल चार संक्रमितकाे मृत्यु भएको हो।
मृत्यु हुनेमा पोखरा महानगरपालिकाका तीन र म्याग्दीको धौलागिरि गाउँपालिकाका एकजना रहेकाे गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोद विन्दु शर्माले जानकारी दिए।
चरक मेमोरियल अस्पतालमा पोखरा महानगरपालिका ३ का ८७ वर्षीय पुरुषको वैशाख २२ गते बुधबार मृत्यु भएको छ। उनमा वैशाख २१ गते संक्रमण पुष्टि भएको थियो।
यता, मणिपाल शिक्षण अस्पतालमा पोखरा महानगरपालिका २९ का ४१ वर्षीय पुरुष, वडा नम्बर १७ का ७३ वर्षीय पुरुषकाे मृत्यु भएकाे छ।
४१ बर्षीय कोरोना संक्रमित पुरूषकाे वैशाख २३ गते बिहान ६:५५ बजे उपचारको क्रममा निधन भएको थियाे। उनीमा वैशाख २२ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो।
यस्तै, ७३ बर्षीय कोरोना संक्रमित पुरूषको वैशाख २२ गते बेलुका ६:४५ बजे उपचारको क्रममा निधन भएको थियाे। उनमा वैशाख १८ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो।
म्याग्दी जिल्ला, धौलागिरी गाउँपालिका २ की ७२ बर्षीय कोरोना संक्रमित महिलाको वैशाख २३ गते बिहान ७:१० बजे मणिपाल शिक्षण अस्पताल, पोखरामा उपचारको क्रममा निधन भएको छ। उनमा वैशाख २२ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो।
डा शर्माका अनुसार याेसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २४१ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।