काठमाडौं– तीव्र गतिमा फैलिरहेको कोभिड–१९ को नियन्त्रणका लागि काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थान, अस्पताल, सुरक्षा जाँच गर्ने स्थानमा ठूला जेट मेसिनको प्रयोग गरी नि:संक्रमण कार्य गरिरहेको छ।
मानिसको बढी आवतजावत हुने स्थानसँगै, कोरोनाका बिरामीलाई अस्पताल लैजाने र ल्याउने एम्बुलेन्सलाई पनि नि:संक्रमण गरिएको हो। ‘बन्दाबन्दी भए पनि कतिपय मानिस अत्यावश्यक कामले बाहिर निस्किनुपर्ने हुन्छ,’ नगर प्रमुख विद्यासुन्दर शाक्यले भने, ‘यसरी मानिस आवतजावत हुने स्थान, सुरक्षा जाँच गर्ने स्थान र अस्पताल परिसरलाई केन्द्रित गरेर नि:संक्रमणको काम गरिरहेका छौं।’
गत वर्ष पनि महानगरपालिकाले सार्वजनिक स्थानसँगै मानिसको बढी भीडभाड हुने स्थानमा नि:संक्रमण गरेको थियो।
यसैबीच, महानगरपालिकाले बढिरहेको संक्र्रमणलाई ध्यान दिँदै अक्सिजनसहितको आइसोलेशन केन्द्र निर्माणका लागि सात सदस्यीय समिति गठन गरेको छ।
कोभिड नियन्त्रणका लागि साना–साना एकाइमा क्वारेन्टिन, आइसोलेशनजस्ता संरचना बनाउँदा जनशक्ति र स्रोत व्यवस्थापन गर्न कठिन हुने भएकाले महानगरले संस्थागत सहकार्यमा संयन्त्र बनाउने विषयलाई जोड दिएको पनि प्रमुख शाक्यको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।