काठमाडौं– चन्द्रागिरि नगरपालिकाको नागढुङ्गामा ‘स्वास्थ्य जाँच केन्द्र’ स्थापना गरिएको छ। नेपालमा पनि नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना संक्रमण फैलिएसँगै काठमाडौं उपत्यका भित्रिने मुख्य नाकाका रूपमा रहेकोचन्द्रागिरिको नागढुङ्गामा स्वास्थ्य जाँच केन्द्र स्थापना गरिएको हो।
बुधबारदेखि सञ्चालन गरिएको उक्त केन्द्रको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली र चन्द्रागिरि नगरपालिकाका नगरप्रमुख घनश्याम गिरिले संयुक्तरूपमा शुरुवात गरेका हुन्।
नगरपालिकाद्वारा स्थापना गरिएको उक्त केन्द्रमा सोही नाका हुँदै काठमाडौं उपत्यका भित्रिने सवारीसाधनका चालक, सहचालक तथा कर्मचारीको स्वास्थ्य जाँच गरिने नगरप्रमुख गिरीले बताए।
नगरपालिकाले नगरपालिकामा निषेधाज्ञा अवधिभर अत्यावश्यकबाहेक सबै सेवा बन्द गर्ने निर्णय गरेको छ। नगर प्रमुख गिरीले बुधबार एक विज्ञप्ति जारी गरी काठमाडौं जिल्ला प्रशासन कार्यालयले तोकेको निषेधाज्ञा अवधिभर अत्यावश्यकबाहेक सबै सेवा बन्द गर्ने जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।