प्रतीकात्मक तस्वीर
काठमाडौं–कोभिड–१९ का संक्रमितको उपचारमा बढी शुल्क लिने निजी अस्पताललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कारवाही गर्ने भएको छ।
मन्त्रालयले संक्रमणको महामारीमा केही निजी अस्पतालले सरकारले तोकेभन्दा बढी शुल्क लिने गरेको पाइएकाले त्यस्ता अस्पताललाई कारवाही गर्ने जनाएको छ।
बढी शुल्क लिने अस्पतालबारेमा मन्त्रालय र स्थानीय प्रशासनमा परेको उजुरीका आधारमा कारवाही गरिने मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले बताए।
‘महामारीको यो संकटमा हामीले एकले अर्कालाई सेवभावले सहयोग गर्नुपर्ने समयमा अनावश्यक दुःख दिने, समस्या बढाउने कार्यप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘ बढी शुल्क लिनेलगायतका गैरकानूनी गतिविधि गर्ने जुनसुकै व्यक्ति वा संस्थाउपर यस्ता गतिविधि नगर्न नगराउन हुन सचेत गराइन्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।