काठमाडाैं- बाँकेको नेपालगञ्ज मेडिकल कलेज (लर्ड बुद्ध एजुकेसनल एकेडेमी)ले कोरोना भाइरसका थप बिरामी भर्ना गर्न नसक्ने जनाएको छ। बुधबार अस्पतालले विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो।
अस्पतालले कोरोना संक्रमित बिरामीको अत्यधिक चाप हुँदा उनीहरुको उपचारका लागि आवश्यक लिक्विड अक्सिजन ट्याङ्क सकिएको र भारतबाट आउन नसकेकाले थप बिरामी भर्ना गर्न नसक्ने जनाएको छ। बाँकेमा कोरोना संक्रमण उच्च बन्दै जाँदा नेपालगञ्ज मेडिकल कलेजले थप बिरामी भर्ना गर्न नसक्ने जनाएपछि थप समस्या निम्तिने देखिएको छ।
उक्त अस्पतालले हाल १३५ कोभिड बेड सञ्चानमा ल्याएको छ। 'अस्पतालमा लिक्विड अक्सिजन ट्याङ्क, पीएसए अक्सिजन प्लान्ट, अक्सिजन सिलिण्डरबाट कोभिड बिरामीको उपचार भइरहेको थियो। तर, सबैभन्दा भरपर्दो लिक्विड अक्सिजन ट्याङ्क सकिएको र भारतबाट आउन नसकेकाले यस शिक्षण अस्पतालले हाल उपचार गराइरहेका बाहेक थप कोरोना बिरामी भर्ना गर्न असमर्थ रहेको कुरा दुःखका साथ सार्वजनिक रुपमा सबैलाई जानकारी गराउन चाहन्छौं,' अस्पतालका प्रबन्ध सञ्चालक डा. सुरेशकुमार कानोडियाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।


अस्पतालले लिक्विड अक्सिजन ट्याङ्क यथाशक्य चाँडो सरकारबाट उपलब्ध भए तुरुन्त कोभिड ३०० बेड सञ्चालन गरी कोरोना बिरामी भर्ना थाल्ने जानकारी दिएको छ। 'नेपाल सरकारले भारतबाट लिक्विड अक्सिजन ट्याङ्क यथाशक्य चाँडो उपलब्ध गराइदिए अस्पतालले तुरुन्त कोभिड ३०० बेड सञ्चालन गरी कोरोना बिरामी भर्ना थाल्नेछ। समस्याका बारेमा यसअघि अस्पतालले वैशाख १९ र २१ गते अक्सिजन आपूर्तिका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा लिखित अनुरोध गरी अक्सिजन अभावका कारण अस्पतालमा ठूलो संकट आउनसक्ने भनी जानकारीसमेत गराइसकिएको छ,' विज्ञप्तिमा उल्लेख छ, 'लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशकै कोरोना बिरामीको चाप यही अस्पतालमा हुने भएकोले कोरोना बिरामीका लागि हरेक पाँच दिनमा एउटा लिक्विड अक्सिजन ट्याङ्क वा दैनिक ८०० अक्सिजन सिलिण्डरको आवश्यकता रहेको जानकारी दिँदै नेपाल सरकारलाई शीघ्रा उपलब्ध गराइ सहयोग गरिदिनुहुन हामी अनुरोध गर्दछौं।'
कोभिड-१९ को दोस्रो लहर फैलिएपछि भेरी अस्पतालमा बेड भरिन लागेपछि शिक्षण अस्पतालले २०७८ वैशाख ३ गतेदेखि कोभिड-१९ का बिरामीका लागि आईसीयूसहितको ४५ बेड सञ्चालन गरी उपचार सुरु गरेको जानकारी दिइएको छ। साथै, सरकारसँग समन्वय गरी १०० बेड सञ्चालनको सम्झौतासमेत गरेको थियो। 'कोरोनाका बिरामी थपिँदै गएपछि बेड अपुग भयो र शिक्षण अस्पतालले कोभिड बेड संख्या बढाउनैपर्ने भयो। कोहलपुर शिक्षण अस्पतालको सम्पूर्ण अन्य सेवा बन्द गरी कोभिड-१९ डेडिकेटेड अस्पताल ३०० बेडसम्म आफ्नै जनशक्तिले सञ्चालन गर्ने अस्पताल व्यवस्थापनले निर्णय गर्यो। ३०० कोभिड बेड तयार गरिए पनि अक्सिजनको अभावमा ती बेड हामीले सञ्चालन गर्न सकिरहेका छैनौं,' विज्ञप्तिमा भनिएको छ।
नेपालगञ्ज मेडिकल कलेजका शिक्षण अस्पतालहरुमा सन् २०२१ को सुरुआतदेखि आजसम्म ३०३ जना कोरोना बिरामी उपचारका लागि भर्ना भएकामध्ये १२६ जना डिस्चार्ज भई घर फर्किएका, १३३ जना उपचाररत रहेका र कोभिड-१९ का कारण मृत्यु हुने बिरामीको संख्या ४४ रहेको अस्पतलाले जनाएको छ। बिरामीको उपचारकै क्रममा शिक्षण अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मी गरी १४८ जना कोरोना संक्रमित भइसकेकोसमेत जानकारी दिइएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।