काठमाडाैं- नेपालमा कोरोना भाइरसको संक्रमणमा दैनिक कीर्तिमान बन्दै गएको छ। सोमबार हालसम्मकै धेरै सात हजार ३८८ जनामा संक्रमण पुष्टि भएको छ।
गत २४ घण्टाको अवधिमा देशभरका प्रयोगशालाहरुमा पीसीआर परीक्षण गरिएकामध्ये ४४.३५ प्रतिशतमा संक्रमण पुष्टि भएको हो। यो दैनिक संक्रमणदर हालसम्मकै उच्च हो।
यसअघि आइतबार ४४.२० प्रतिशतमा संक्रमण पुष्टि हुँदा पहिलो लहरको कीर्तिमान तोडिएको थियो। आज आइतबारभन्दा ०.१५ विन्दुले संक्रमणदर बढेको छ। सरकारले संक्रमणको दर अझ बढ्ने आकलन सार्वजनिक गर्दै सतर्कता अपनाउन सबैमा अपिल गर्दै आएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टाको अवधिमा देशभर १६ हजार ६५८ जनाको पीसीआर परीक्षण भएको थियो। उक्त परीक्षणबाट सात हजार ३८८ जनाको नतिजा 'पोजिटिभ' देखिएको छ।
वैशाख महिनाको औसत संक्रमणदर ३१.१४ प्रतिशत
यो महिना (वैशाख) मा दैनिक औसत ३१.१४ प्रतिशतका दरले कोरोना संक्रमित थपिएका छन्। वैशाख १ देखि २० गतेसम्मको अवधिमा मात्रै ६२ हजार ४३४ जना संक्रमित भएको तथ्यांक छ। यो पीसीआर परीक्षणबाट पुष्टि भएका संक्रमितको संख्या मात्र हो। उक्त अवधिमा देशभर दुई लाख ४४९ जनाको पीसीआर परीक्षण गरिएको थियो।
वैशाख महिना लागेसँगै संक्रमितको संख्या दैनिक बढ्दै आएको छ। वैशाख ४ गतेसम्म दैनिक एक हजारभन्दा कम संख्यामा संक्रमित पहिचान हुँदै आएकामा ५ वैशाखयता दैनिक एक हजारभन्दा बढी हुँदै हाल करिब साढे सात हजारमा पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हाल ५४ हजार ४१ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्।
सरकारले संक्रमणको 'चेन ब्रेक' गर्न भन्दै काठमाडाैं उपत्यकासहित देशभरका ४५ जिल्लामा निषेधाज्ञा जारी गरिसकेको छ। संक्रमण फैलिँदै जाँदा निषेधाज्ञा जारी गर्ने जिल्लाको संख्या पनि थपिने क्रम जारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।