काठमाडाैं- गत २४ घण्टाभित्र नेपालमा सबैभन्दा धेरै ३० देखि ३९ वर्ष उमेर समूहका व्यक्तिहरु कोरोना भाइरसको संक्रमणमा परेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उक्त उमेर समूहका एक हजार ८७१ जना संक्रमित भएका छन्। यो संख्या गत २४ घण्टामा पहिचान भएका कूल संक्रमितको २५.३२ प्रतिशत हो। उक्त अवधिमा कूल सात हजार ३८८ जनामा संक्रमण पुष्टि भएको थियो।
त्यसपछि धेरै संक्रमणमा पर्नेमा २० देखि २९ वर्ष उमेर समूहका छन्। उक्त समूहका एक हजार ६८८ जनामा एकै दिन संक्रमण पुष्टि भएको छ, जुन कूल संक्रमितको २२.८४ प्रतिशत हो।
यसैगरी ४० देखि ४९ वर्षका एक हजार ३६९ जना, ५० देखि ५९ वर्षका ९८८ जना, ६० देखि ६९ वर्षका ५२२ जना, १० देखि १९ वर्षका ४३९ जना, ७० देखि ७९ वर्षका २२० जना, नाै वर्षसम्मका १५६ जना, ८० देखि ८९ वर्षका ७९ जना तथा ९० देखि १०० वर्ष उमेर समूहका नाै जनामा संक्रमित भएका छन्। ४७ जना संक्रमितको भने उमेर खुल्न नसकेको मन्त्रालयले जानकारी दिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।